हामीसँग दिमाग छ, सुशासन छैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता रहेको बताएका छन्।

चितवनको भरतपुरमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले नेपालमा जडिबुटीको प्रचुर सम्भावना भएकाले त्यसलाई सदुपयोग गर्नुपर्ने बताए। आफू भारत भ्रमणमा गएका बेला रामदेवले औषधि बनाउनका लागि प्रयोग हुने जडिबुटी नेपालबाट आएको भनेर बताएको स्मरण गरे।

हामीकहाँ हरेक क्षेत्रमा अराजकता रहेको भन्दै प्रचण्डले त्यसको अन्त्य गर्नुपर्ने बताए। ‘हामीसँग तीक्ष्ण दिमागको कमी होइन, प्रचण्डले भने, ‘हरेक क्षेत्रमा सुशासनको अभाव छ। अराजकताको समस्या छ। त्यसको अन्त्य भएपछि नेपालले चाँडै प्रगति गर्न सक्छ ।’

कार्यक्रममा स्वास्थ्यखबर पत्रिका र नेपाललाइभ डट कमका सम्पादक नारायण अमृतले संघीयताको मर्मलाई आत्मसाथ गर्दै हेल्थ अवार्ड उपत्यका बाहिर गरिएको बताए।

स्वास्थ्य क्षेत्रमा चितवनले विगत १०, १२ वर्षको छोटो अवधिमा नै ठूलो फड्को मारेको कुरालाई मध्यनजर गरी उपत्यका बाहिर पहिलोपटक चितवनमा हेल्थ अवार्ड आयोजना गरिएको बताए। आगामी वर्षमा क्रमशः अन्य प्रदेशमा पनि हेल्थ अवार्डलाई विस्तार गरिने उनको भनाइ थियो। कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न विधामा योगदान पुर्‍याएका ७ जनालाई हेल्थ अवार्ड प्रदान गरिएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!