भारतीय माओवादी संसारकै चौथो ठूलो आतंकवादी समूह– अमेरिका

काठमाडौं, संसारमा इस्लामिक स्टेटलगायतका कैयन आतंवादी संगठन रहेका छन् । हरेक दिनजसो दर्जनौं आम नागरिक र सुरक्षाकर्मी यिनै आतकंवादी संगठनको निशाना समेत बन्ने गरेका छन् ।

तर अमेरिकाले भने एउटा अचम्मलाग्दो प्रतिवेदन सार्वजनिक गरेको छ ।

अमेरिका स्टेट डिपार्टमेन्टले सार्वजनिक गरेको उक्त रिपोर्टमा भारतीय माओवादीलाई संसारकै सबैभन्दा चौथो ठूलो आतंकवादी समूहका रुपमा प्रस्तुत गरिएको छ ।

कतिपयका लागि भारतमा माओवादी आन्दोलन छ जस्तो लाग्दैन । यदाकदा हुने ससाना आक्रमणलाई धेरै महत्व दिएका हुँदैनन् । तर वर्ष २०१७ मा विश्वभरि भएका घटनाहरु समेटेर तयार पारिएको उक्त प्रतिवेदनमा नक्सलवादी चौथो ठूलो आतंकवादी संगठन देखिएको छ ।

नक्सलवादी भनेर चिनिन्छ भारतीय कम्युनिष्ट पार्टी (माओवादी) । माओवादी केन्द्र र पिपुल्स वार समूहबीच एकतापछि भाकपा (माओवादी) भएको थियो यो पार्टी ।

अहिले भारतमा जम्मु कश्मिरका आतंकवादी भन्दा बढी नक्सलवादी भारतीय सत्ताका लागि टाउको दुखाई बनेको छ ।
अमेरिकी रिपोर्टका अनुसार, संसारका आतंकवादी संगठनहरुमा इस्लामिक स्टेट अर्थात् आइएसआइएस सबैभन्दा पहिलो नम्बरमा छ । आइएसले वर्ष २०१७ मा ८ सय ५७ वटा हमला गरेको छ भने ४ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।

यसैगरी दोश्रो नम्बरमा भने अफगानिस्तान र उत्तर पश्चिम पाकिस्तानका सक्रिय तालिबान रहेका छ । तालिबानले आइएसकै हाराहारीमा ७ सय ३ आक्रमण गरेको छ । यसको आक्रमणमा परी मर्नेको संख्या ३ हजार ६ सय २० रहेको छ ।
केन्या र सब सहारन अफ्रिकामा सक्रिय अल शबाबलाई तेश्रो ठूलो आतंकवादी मानिएको छ ।

भारतको माओवादी कम्युनिष्ट पार्टी बोको हराम भन्दा ठूलो चौथो नम्बरमा रहेको छ । प्रतिवेदनका अनुसार, यो पार्टीले वर्ष २०१७ मा २ सय ९५ वटा आक्रमण गरेको छ । वर्ष २०१६ मा भने यसले ३ सय ३८ पटक आक्रमण गरेको थियो । यी आक्रमणमा गत वर्ष २ सय ६ जनाको मृत्यु भएको छ भने २ सय १२ जना घाइते भएका थिए । उनीहरुले १ सय ७१ जनालाई अपहरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

बोको हराम भने पाँचौ नम्बरमा रहेको छ ।

भारतमा जम्मु कश्मिरमा हुने आतंकवादी हमलाहरु निकै बढी रहेपनि देशमा भएका सबै प्रकारका हमलाहरुमध्ये ५३ प्रतिशत हमलामा माओवादी कम्युनिष्ट पार्टीको हात रहेको छ । भारतमा ४३ वटा आतंकवादी समूह सक्रिय रहेको जनाइएको छ । यद्यपी गत वर्ष वर्ष २०१६ भन्दा माओवादी हमला कम भएको प्रतिवेदनमा छ ।

बिस्तृतरुपमा प्रतिवेदनमा भारतमा भएका आक्रमणहरुमा हताहतीकम भएपनि चारवटा घटनामा भने १० जना मरेको बताइएको छ ।

नयाँ जनवादी क्रान्तिमार्फत नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्य बोकेर यो पार्टीको स्थापना भएको थियो । आधा दशक पुग्न लागेको माओवादी आन्दोलन भारतमा कहिले कमजोर त कहिले आक्रामक बन्दै आएको छ । भारतको झारखण्ड, बिहार, दक्षिण राज्यलगायत १६ वटा बढी राज्यमा नक्सलवाद भारतका लागि मुख्य समस्या बनेको छ ।

केही समयअघि सरकारले माओवादी समर्थित कैयन लेखक तथा कलाकारहरुलाई गिरफ्तार गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!