‘छक्का पञ्जा ३’ र ‘जय भोले’ को प्रदर्शन मिति बल्ल टुंगाेमा, कहिले हुँदैछ प्रदर्शन ?

काठमाडौं । बडादशैंको अवसर पारेर दुई ठूला ब्यानरका चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ एकसाथ प्रदर्शनमा आउने कुराले सिने वृत लामै समय नै तात्यो । पटक–पटक वार्ता हुँदा पनि प्रदर्शन मितिलाई लिएर दुई नेपाली चलचित्रका मेकर्सबीच सहमति हुन सकेका थिएन ।

‘जय भोले’ को गीत र ट्रेलर सार्वजनिक भइसक्दा पनि प्रदर्शन मिति भने कुनै टुङ्गो लाग्न सकेको थिएन । निर्माता तथा निर्देशक अशोक शर्माले घटस्थापनादेखि पूर्णिमासम्म घाम लाग्ने राम्रो दिन हेरेर चलचित्र प्रदर्शनमा ल्याउने बताए । उता ‘छक्का पञ्जा ३’ ले ‘जय भोले’ सँग भिड्नुपर्ने डरले दुई गीत र पोस्टरमा प्रदर्शनमा प्रदर्शन हुने मिति राख्न निकै कठिनाई भएको जनाएको छ ।

अन्ततः दुई बाघ मेकर्सबीच प्रदर्शन मितिलाई लिएर सहमति जुटेको छ ।

शनिवा चलचित्र ‘छक्का पञ्जा ३’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माता तथा कलाकार दीपकराज गिरीले ‘जय भोले’ को प्रदर्शन मिति पनि घोषणा गरिदिए । उनले भने, ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिन प्रदर्शन गर्ने र अर्काे नेपाली चलचित्र ‘जय भोले’ फूलपातीको दिन ।’

उनले क्लास हुनबाट बाँच्न र दुबै फिल्मको सफलताका लागि प्रदर्शन मितिमा सहमति जुटेको बताए । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेका थिए, सहमति कसरी सम्भव भयो ? पत्रकारको प्रश्नमा दीपकले भने, ‘प्रदर्शन मिति ठूलो कुरा होइन, दुई नेपाली चलचित्र जुध्नु हुन्न भन्ने मात्र हो ।’

उनले थपे, ‘दुई चलचित्र जुध्दा चलचित्र क्षेत्रमा अहित चाहने तत्वहरु सलबलाउँछन् ।

यसकारण मिलेर अगाडि बढ्नुपर्छ भनेर म र अशोक दाईबीच धेरैपटक वार्ता भयो । मैले उनलाई फूलपाती या घटस्थापनामध्ये एक मितिमा आउनु भने । उनले फूलपाती रोजे ।’

‘जय भोले’ निर्माता तथा निर्देशक शर्माले फिल्म रिलिजका लागि धेरै हलसँग कागजी सम्झौैता गरिसकेका छन् । अब त्यो के हुन्छ ? फेरि पत्रकारको प्रश्न दीपकराजमाथि तेर्सियो । उनले रिलिजको एक हप्तापछि ‘जय भोले’ ले सम्झौता गरेको हल छाड्न कुनै आपत्ति नभएको बताए ।

‘एकैदिन आउँदा पनि त हल बाँडफाँड हुन्थ्योे । अब त एक हप्ताको अन्तर छ । एक हप्ताको विजनेश हामीले राम्रोसँग गर्न पाउँछौं । त्यसपछि फिल्म चलाउने वा नचलाउने हल सञ्चालकको हातमा हुन्छ’, उनले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!