मन्त्री लालबाबु पण्डितको प्रस्ताव जथाभावी फोहर फाल्नेलाई बढी कर

भक्तपुर, असोज, ६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् ।

आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै मन्त्रि पण्डितले यस्तो विचार व्यक्त गरेका हुन् ।
स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै मन्त्री पण्डितले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पुऱ्याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गरे ।

नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै, हरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्त छ, भन्ने सन्देश प्रवाह गर्न व्यवहार मै देशलाई स्वच्छ बनाउनुपर्नेमा मन्त्री पण्डितको जोड थियो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको उल्लेख गरेका छन् ।

उहाँले पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै बस्नेतले सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरेका छन् ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, कलाकार शिव श्रेष्ठ, चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायतले नदी सफाइ अभियानमा सबै जुट्नुपर्ने औंल्याए ।

यसैबीच अभियन्ता पुस्कर गजुरेलले विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानको ३० औँ हप्तामा आज दुई टन फोहर सङ्कलन भएको र हालसम्म ३०९ टन फोहर सङ्कलन गरिएको जानकारी दिए ।
रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!