सवारी चालक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ — सरकार र स्वतन्त्र सवारी चालकबीच सहमति भएको छ ।

नयाँ ऐनमा संशोधन गर्न सरकार तयार भएपछि आन्दोलन स्थगित भएको हो ।

यसअघि ऐनमा चालकविरोधी प्रावधान भएको भन्दै स्वतन्त्र सवारी चालकहरुले आन्दोलन गरेका थिए ।

यो सहमतिको सवारी चालकहरुले स्वागत गरेका छन् भने सरकार झुकेको भन्दै सामाजिक सञ्चालमा आलोचना समेत भएको छ ।

सरकारका प्रतिनिधि र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच भएका ८ बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने लगायतका व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु ३ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृह सचिव प्रेम राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजिव गौतमले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् । कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे÷नरहेको छानबिन गर्न समिति गठन गर्ने, लगायतका सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।

‘मन्त्रिपरिषदको कार्यालयमा सहमति भएको छ,’ उनले भने, ‘आन्दोलन फिर्ता गाडी सुचारु गरिसकेका छन् ।’

सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ । चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो । भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले आन्दोलन फिर्ता लिएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!