प्रदेश नेतृत्वमा पूर्वएमालेको वर्चस्व, किन मौन बस्यो पूर्वमाओवादी समूह?

एभरेष्ट टिप्पणी, काठमाडौं, असोज ५ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको प्रक्रियामा संगठनको अवस्था हेरेर सकेसम्म समानताका आधारमा एकता गर्ने सहमति भएको अवस्थामा प्रदेशको नेतृत्वमा भएको निर्णयले भने पूर्व माओवादी समूहलाई झस्काएको छ ।

सात वटा प्रदेशमा आज सचिवालय बैठकले गरेको निर्णय हेर्दा पूर्व एमाले समूहले प्रदेश नेतृत्वमा पूर्वएमालेले बाजी मारेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो ।

सचिवालय बैठकले टुंगो लगाएको प्रदेश नेतृत्वमा सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा पूर्वएमालेले इन्चार्जको जिम्मेवारी पाएको छ ।
पूर्वमाओवादीले भने प्रदेश ६ मा मात्रै प्रदेश ईन्चार्जका रुपमा जनार्दन शर्मालाई पाएको छ ।

पूर्वएमालेले प्रदेश १ मा ईन्चार्जको रुपमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ मा शंकर पोखरेल र प्रदेश ७ मा भीम रावललाई पाएको छ । यस्तै सहइनर्ज र अध्यक्ष तथा सचिवहरुको नेतृत्वमा पनि सन्तुलन देखिंदैन ।

यसअघि जिल्लादेखि प्रदेशसम्मको पार्टी एकिकरणका लागि सहजिकरण गर्न गठित कार्यदलहरुले भने करिब ४५ स् ५५ को अनुपातमा दुवैले नेतृत्व गर्न सुझाव दिएको कुरा सार्वजनिक थियो ।

यही अनुरुप कतिपय जिल्लामा बराबरीका आधारमा एकता गर्न सिफारिस भएको थियो भने केहीमा ४५ः५५ को अनुपात देखिन्छ । तर प्रदेशका नेतृत्व हेर्दा भने यसले पूर्व मान्यतालाई भत्काउँदै पूर्व एमालेको एकलौटी कब्जाको भावना दिएको छ ।

संगठनका हिसाबले कमजोर देखिएपनि प्रदेशको समीकरण हेर्दा प्रदेश २, प्रदेश ६ र प्रदेश ७ मा पूर्व माओवादी समूहले इन्जार्च पाउनुपर्ने हो । प्रदेश ७ मा कार्यसम्पादन र जेष्ठताका आधारले समेत पूर्व माओवादी अगाडि छ । तर अन्तिममा आएर प्रदेश ७ मा समेत पूर्व एमालेका नेता भीम रावल इन्जार्ज बनेका छन भने मधेस आन्दोलनपछि संकटमा परेको पूर्व एमालेबाट नै प्रदेश २ मा सत्यनारायण मण्डल इन्चार्ज बनेका छन् ।

निर्णय सार्वजनिक भएसँगै सचिवालय बैठकमा प्रदेश नेतृत्वको निर्णय गर्दा माओवादीको दावी नभएको हो या निर्णयमा सहजताका लागि दावी छोडेको हो भन्ने कुरा आधिकारिकरुपमा सार्वजनिक भएको छैन । तर पनि एकाएक ७ मध्ये १ मात्र नेतृत्व पाउने विषय भने उदेकलाग्दो भएको पूर्व माओवादी नेताहरु बताउँछन् ।

एकातिर पार्टीको नेतृत्व गर्दै सरकारमा गएकाहरुले समेत जनअपेक्षा अनुरुपको परिणाम दिन नसक्नु र अर्कोतर्फ प्रदेशहरुमा आफ्नो ‘होल्ड’ नहुने अवस्थामा भविष्यमा यसले कस्तो रुप लिन्छ त्यो हेर्न बाँकी छ । नयाँ पार्टी, नयाँ स्पिरिट र गुटरहित नयाँ संगठनको जति चर्चा र वकालत गरिएपनि समूहगत मनोविज्ञानले समेत धेरै ठूलो भूमिका खेलेको हुन्छ ।

प्रदेश नेतृत्वको परिणामसँगै जिल्लामा कसरी एकीकरण हुने हो भन्ने चासो अहिले झनै बढेर गएको छ । कार्यदलले दिएको सुझावका आधारमा एकता हुने हो भने सम्मानजनक र सन्तुलित समीकरण देखा पर्ने हुन सक्छ । तर पूर्व एमालेभित्र कतिपय जिल्लामा देखिएको गुटगत विवादलाई समायोजन गर्न पूर्व माओवादीलाई नै बार्गेनिङ बिन्दुमा पुर्याइयो भने जिल्लामा समेत समस्या पर्न सक्ने आँकलन नेताहरुले गरेका छन् ।

तर सचिवालयको निर्णयको रक्षा गर्नेहरु भने इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवमा बराबरको संख्यामा दुबै पूर्व पार्टीबाट सहभागी भएकोले यसले समस्या ननिम्त्याउने तर्क समेत गरिरहेका छन् । इन्चार्ज देखि सचिवसम्म एउटा टीम हुने, त्यसपछि कार्यालय रहने भएकोले अहिलेको समीकरणमा जुन समूहको नेतृत्व भएपनि काम गर्ने सवालमा यसले कुनै विवाद या अप्ठ्यारो नपर्ने उनीहरुको तर्क छ ।

यस्ताे छ प्रदेश नेतृत्वको नामावली

प्रदेश १ 

ईन्चार्ज भीम आचार्य
सहईन्चार्ज सावित्रीकुमार काफ्ले
अध्यक्ष देवराज शर्मा
सचिव सुरेश राई

प्रदेश २
ईन्चार्ज सत्यनारायण मण्डल
सहईन्चार्ज विश्वनाथ शाह
अध्यक्ष प्रभु साह
सचिव सुमन पोखरेल

प्रदेश ३
ईन्चार्ज अष्टलक्ष्मी शाक्य
सहईन्चार्ज हितबहादुर तामाङ
अध्यक्ष नारायण दाहाल
सचिव आनन्द पोखरेल

गण्डकी प्रदेश
ईन्चार्ज पृथ्वीसुब्बा गुरुङ
सहईन्चार्ज खगराज अधिकारी
अध्यक्ष हितराज पाण्डे
सचिव गोविन्द नेपाली

प्रदेश ५
ईन्चार्ज शंकर पोखरेल
सहईन्चार्ज दल बहादुर राना
अध्यक्ष ओनसरी घर्ती
सचिव जगप्रसाद शर्मा

कर्णाली प्रदेश
ईन्चार्ज जनार्दन शर्मा
सहईन्चार्ज ओमलाल कंडेल
अध्यक्ष गोरखबहादुर बोगटी
सचिव माया प्रसाद शर्मा

प्रदेश ७
ईन्चार्ज भीम रावल
सहईन्चार्ज लक्ष्मी जोशी
अध्यक्ष कर्ण बहादुर थापा
सचिव सिंहराज चौधरी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!