थारुलाई नेतृत्वमा ल्याउन आफ्नै पद धरापमा पारे नेता लेखराजले !

काठमाडौं, असोज ५ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ बाट प्रभावशील नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।

‘५ नम्बर प्रदेशबाट पनि नेतृत्वमा थारु समुदायबाट सिफारिस भएन, ७ नम्बरबाट दिनु पर्यो ।’

त्यसै पनि पद अनुसार, नेता व्यवस्थापनको गम्भीर चुनौती झेलिरहेका नेता लेखराजका लागि यो अप्रत्याशित निर्देशन थियो ।

पहिलादेखि नै तयार भएको सेटमा नयाँ व्यक्ति थप्दा कसैलाई विस्थापन गर्नु पर्थ्यो ।

पूर्वमाओवादी र पूर्वएमालेबीच प्रदेश नम्बर ७ का लागि भीम रावल र लेखराज तथा कर्ण थापा र लक्ष्मण जोशीको नाम मुख्य नेतृत्व तहका लागि सहमति भैसकेको अवस्था थियो ।

थारु समुदायबाट कसैलाई समेट्न कि लक्ष्मी जोशीलाई लिस्टबाट झिक्नु पर्थ्यो । जोशीको नाम सचिव पदका लागि सिफारिस भइसकेको थियो ।

तर, लेखराजले आफ्नै लागि अप्रिय निर्णय गर्दै पुराना थारु नेता सिहराज चौधरीलाई सचिव पदका लागि सिफारिस गरे ।

सिहराजलाई सिफारिस गर्नुको अर्थ लक्ष्मी जोशी आउट हुनु थियो ।

लेखराजले एकपटक फेरि त्यागको मनस्थिति बनाए । उनले सचिवका लागि प्रस्तावित लक्ष्मी जोशीलाई सह–इन्चार्जमा प्रस्ताव गरे ।

उनले थारु समुदायबाट नेतृत्व ल्याउन नखोजेको भए या लक्ष्मी जोशीलाई हटाएको भए उनी या भीम रावल मध्ये एक जना इन्चार्ज र अर्को सह इन्चार्ज हुने पक्का थियो ।

यस अघि ओली सरकार गठनको बेला तत्कालिन परिस्थितिको आँकलन गरि लेखराज भट्टले मन्त्री पदमा बीना मगरलाई सिफारिस गरेका थिए ।

एजेन्डाका हिसाबले अखण्ड ७.नम्बर प्रदेशका पक्षधर भट्टलाई थारु विरोधीका रुपमा समेत कतिपयले चित्रण गर्न खोजे । तर, नेता भट्टले निर्णायक अवस्थामा आफुले पाएको पद समेत धरापमा राखेर थारु समुदायबाट प्रदेश सचिवमा सिफारिश गरे ।

नेता भट्टले सिफारिस गरे अनुरूप नै आज बसेको नेकपा सचिवालयको बैठकले प्रदेश.नम्बर ७ को इन्चार्जमा भीम रावल, सह इन्चार्जमा लक्ष्मी जोशी, अध्यक्षमा कर्ण थापा र सचिवमा सिहराज चौधरीलाई चयन गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!