‘मूल्यवृद्धि फिर्ता नभएसम्म अग्रिम टिकट बुकिङ खुल्दैन’

काठमाडौं असोज ५ ।

दशैंमा काठमाडौं उपत्यकाबाट घर जानेहरूका लागि खुलाउने भनिएको अग्रिम टिकट बुकिङ नखुलाउँदा सर्वसाधारण मर्कामा परेका छन् ।

शुक्रबारदेखि टिकट बुकिङ खुला हुने सुनेर बिहानै बुकिङ काउन्टर पुगेका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएका छन् ।

सरकार र यातायात व्यवसायीबीच असोज ५ अर्थात् शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो ।

यही सुनेर अग्रिम टिकट लिन बिहानै यात्रु नयाँ बसपार्क पुगेका थिए । तर, यातायात व्यवसायीले टिकट नखुलाएका कारण उनीहरू त्यसै फर्कन बाध्य भएका हुन्।

दशैंमा घर जानुपर्ने आफूहरू टिकट बुकिङ नखुलाउँदा मर्कामा परेको यात्रुहरूले बताएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको बताएका छन्।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!