ललितपुरका ४ वटा पशु वधशाला प्रतिबन्धित

काठमाडौं, असोज ५ । नेपाल सरकारले ललितपुर महानगरपालिकामा सञ्चालित ४ वटा पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालित ५ वटा बधशालाको अनुगमन गरेको थियो । मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट शप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट शप तथा देव खड्गी र सुनील खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको पशुसेवा विभागका महानिर्देशक डा.विमलकुमार निर्मलले जानकारी दिए ।

देव र सुनिलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको छ । उक्त बधशालाहरुले सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर मैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्रि वितरणमा रोक लगाइएको महानिर्देशक जानकारी दिए ।

ती बधशालाहरुमा दैनिक ३० भन्दा बढी रागाँ भैसी काट्ने गरेको पाइएको छ । उनीहरुसँग थप छलफल गर्नका लागि शुक्रबार नै विभागमा बोलाइएको छ । काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले मानव स्वास्थ्यका हिसावले उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको बताए । अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो ।

तर, ए वान मिट शपका सञ्चालक सरोज खड्गीले भने सरकराले जहिले पनि सुधारको मात्र कुरा गरेको भन्दै पहिलेभन्दा सुधार गर्दै लगेको दाबी गरे ।

उनले सरकारले जग्गा उपलब्ध गराइदिए आफूहरु जग्गा किनेर व्यवस्थित रुपमा बधशाला सञ्चालन गर्न तयार रहेको बताए ।

कृषि राज्यमन्त्री चौधरीले व्यवशायको नाममा आम मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको भन्दै सुधार नहुँदासम्म अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!