किन हुन सकेन नेकपा नेताहरुमा ‘लभ एट फर्स्ट साइट’ ?

एभरेष्ट टिप्पणी । कुनै बेला वैचारिकरुपमा दुई ध्रुवमा बाँडिएका नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकता प्रक्रिया झण्डै एक वर्ष पुग्न थालेको छ ।
गत वर्ष असोज को तेश्रो सातातिर दुबै पार्टीबीच एकताको औपचारिक सहमति भएको थियो ।

एकवर्षे यो यात्रामा कैयन उतारचढाव, संघर्ष र आशंकापछि पार्टीको शीर्षमा दुबै टाउकोहरु जोडिएपनि छातीमुनिको सबै अङ्गहरू अहिले पनि एकीकरण हुन सकेका छैनन् ।
यसले गर्दा पार्टी एकतापछि जसरी एकत्वको मनोविज्ञान निर्माण हुनुपर्ने हो, त्यो देखिँदैन । अहिले पनि पूर्व माओवादी र पूर्व एमालेको मनोविज्ञान जीवितै देखिन्छ । कार्यशैली र संगठनमा एकल पार्टी, एकल ‘स्पिरिट’को विकास हुन सकेको छैन । फरक प्रकृतिका पार्टीहरुको एकीकरण भएको हुँदा यो कतिपय अवस्थामा स्वभाविक भएपनि यसका पछाडि सबैभन्दा मुख्य कुरा भने वैचारिक ‘स्पिरिट’ र मान्यता नै रहेको देखिन्छ ।

किन हुन सकेन भावनात्मक एकता ?

विश्व कम्युनिस्ट आन्दोलनमा देखिएका वैचारिक धूरीहरुको समरुप नेपालमा पनि विभिन्न कम्युनिस्ट स्कूलहरु जन्मिए । यी मध्ये सबैभन्दा प्रभावी स्कूलिङ माओ स्कूल नै थियो । चौथो महाधिवेशनको ‘लेगेसी’ बोकेको यो स्कूल पञ्चायतविरुद्धको संघर्ष हुँदै राजतन्त्रविरुद्धको संघर्षसम्म सम्झौतारहित तरिकाले विकास भयो । माओ विचारधारा र माओवादमा विभक्त भएपनि यो आन्दोलनको केन्द्रमा माओकै मान्यता, माओका विचार रहेका छन् ।

वैचारिक मनोविज्ञान राजनीतिक आन्दोलमा सबैभन्दा महत्वपूर्ण हुन्छ । एकल र साझा मनोविज्ञान कुनै पनि समूह निर्माणको पहिलो आधार पनि हो । यो मनोविज्ञान निर्माण हुने कुनै न कुनै साझा केन्द्र हुने गर्दछ । यो केन्द्र विचार पनि हुन सक्छ, संस्कृति, भाषा, भूगोल, स्वार्थ पनि हुन सक्छ या अरु केही कुरा पनि । संसारका कतिपय धार्मिक पन्थहरु, पार्टीहरु, समूहहरु यही एकल पहिचानको कारण विकास भएका हुन्छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा माथि चर्चा गरेको माओ स्कूलको मनोविज्ञानमा नयाँ जनवादी क्रान्तिको विचार एकल मनोविज्ञान जोडने सूत्र थियो । मोहनविक्रमदेखि मोहन वैद्य र प्रचण्डदेखि बाबुरामहरु यही मनोविज्ञानमा एक अर्कासँग जोडिएका थिए । मोहनविक्रमहरुले माओवादीको खोइरो खन्ने अर्थमा विरोध गर्थे तर उनका लागि माओवादी नै नजिकका मित्र शक्ति थिए । माओवादीका लागि पनि नजिकको मित्र शक्ति मसाल नै थियो । एमाले उसका लागि कांग्रेस जस्तै प्रतिक्रियावादी थियो । किनभने त्यहाँ माओ स्कूलको मनोविज्ञान थिएन । बरु वामदेवहरुले कुनै बेला माओलाई पूर्ण नस्वीकारे पनि नयाँ जनवादको कुरा गर्थे र त्यो मनोविज्ञानका कारण वामदेव या पूर्व माले माओवादी निकट थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनको दोश्रो स्कूल भनेको तत्कालीन सोभियत रुस समर्थित गैर माओ स्कूल हो । र, यो स्कूल कोअर्डिनेशन केन्द्र लगायतका विभिन्न समूह हुँदै पछि गएर नेकपा(एमाले) मा रुपान्तरण भयो । यसले नयाँ जनवादी क्रान्तिलाई निषेध गर्दै आयो । बहुदलीय जनवादसँगै संसदीय व्यवस्थालाई नै उपयोग गर्ने रणनीति अख्तियार गर्यो । नाममा कम्युनिस्ट भएपनि सारमा यसले रुपान्तरणमा निर्णायक भूमिका भने खेल्न सकेन । नेपालको परिवर्तनको आन्दोलनमा माओवादी आक्रामकरुपमा अघि बढ्यो भने बहुदलीय जनवादको स्कूल भने सहायक भूमिका र राजनीतिको धार हेर्दै सोही अनुरुप अघि बढेको देखियो ।

इतिहासको संयोग भनौं, यी दुबै शक्तिबीच एक विन्दुमा आएर एकताको घोषणा भयो । यो एकता आन्तरिक दबाब या मनोविज्ञानले निम्त्याएको एकता होइन, बरु वस्तुगत परिस्थितिले सिर्जना गरेको आवश्यकता थियो ।

नेपाली समाजलाई कम्युनिस्टहरुबीचको एकता आवश्यक थियो । त्यसअर्थमा यसले जनअनुमोदन प्राप्त गऱ्यो ।

यही आधारमा निर्वाचनमा जनताले झण्डै दुई तिहाई बहुमत दिए र यो नेपालको सबैभन ठूलो कम्युनिस्ट पार्टी बन्न पुग्यो ।

प्रेम नहुँदा हुर्किए समस्या

तर माथि उल्लेखित फरक वैचारिक स्कूलका कारण घटनाक्रमलाई हेर्ने फरक मान्यताको जुन विकास हुँदै आएको थियो, त्यसले गर्दा नयाँ बनेको पार्टीभित्र नयाँ एकत्व, नयाँ मान्यता, नयाँ स्पिरिट भने जन्म लिन सकेन ।

प्रेममा जसरी ‘लभ एट फर्स्ट साइट’ भनिन्छ, अर्थात् ‘तुझ को देखा तो प्यार हो गया’ भन्ने मनोविज्ञान हुन्छ, त्यो एक वर्ष पुग्दा समेत देखा पर्न सकेन ।
यसको मुख्य कारण पार्टी एकताको प्रक्रियामा ढिलाई र पार्टीको तत्कालीन कार्यदिशा निर्माण हुन नसक्नु हो ।

यो समग्र अवस्थाले संघीयतादेखि विकास, कर्मचारी संयन्त्रदेखि सत्ता सञ्चालनका कैयन पक्षमा समस्या निम्त्याएको समेत कतिपयले औंल्याएका छन् । काम गर्ने एउटा स्पिरिट, बुझाई र शैली नहुँदा सत्ता सञ्चालनमा समेत एकल नेतृत्वको आभास भएको देखिँदैन । जसले गर्दा मन्त्री र प्रधानमन्त्रीले सञ्चालन गरेको कैयन राम्रा कामहरु समेत एउटा मियोको स्पिरिटमा अघि बढन सकेका छैनन् ।

यसरी हुन सक्छ प्रेम

पार्टी एकता आवश्यकता थियो, वाम सरकार आवश्यकता थियो । यो पुरा भयो । यसलाई जनताले स्वीकृति दिए । तर अबको आवश्यकता यो पार्टीको एकल विचार, एकल मान्यता, एकल संस्कृति र एकल कार्यदिशाको हो । नेपाली जनताले आमूल परिवर्तन खोजेका छन् । यो आमूल परिवर्तन नेपाल कम्युनिस्ट पार्टीले ल्याउन सक्छ भन्ने विश्वास व्यक्त गरेका छन् । तर पार्टीलाई व्यक्त गरेको विश्वास र भरोसा अनुरुप पार्टी निर्माण हुन नसके, सोही अनुरुपको सरकारको स्पिरिट हुन नसके, ‘टिम वर्क’ हुन नसके यो विश्वास भत्किन धेरै दिन लाग्दैन ।
नेपाली समाज त्यसैपनि अस्थिर मनोविज्ञान भएको समाज हो । त्यसैले अहिले कम्युनिस्ट पार्टीको नेतृत्वले केही प्राथमिक कुरामा तत्कालै निर्णय गर्नुपर्ने देखिन्छ ।

पहिलो, पार्टी एकताको काम सकेसम्म छिटो सक्ने । टोलदेखि केन्द्रसम्म नयाँ पार्टी निर्माण गर्न सके यसले माथि भनेको एकत्वको भावना निर्माण गर्न, नयाँ सामूहिकताको विकास गर्न ठूलो भूमिका निर्वाह गर्छ ।

दोश्रो, तत्कालीन कार्यनीति निर्माण गर्ने (यो एकहदसम्म तयार देखिन्छ, निर्वाचनको घोषणापत्रलाई नै नयाँ परिस्थितिमा परिमार्जन गर्न सकिन्छ) र यस अनुरुप तलदेखि माथिसम्म घनीभूत प्रशिक्षण सञ्चालन गर्ने । हामी नयाँ ढंगका कम्युनिस्ट हौं, हामीले लिने तत्कालको बाटो यो हो र सो अनुरुप तलदेखि माथिका कमिटीको भूमिका यो रहने भन्ने किसिमले प्रशिक्षण गर्न सके यसबाट साझा मनोविज्ञान र कामको स्पिरिटले जन्म लिन्छ ।

तेश्रो काम भनेका सरकारमाथि पार्टीको नियन्त्रण हो । स्थानीय सरकारहरू अहिले एकल ढंगले जितेका छन् । तिनीहरूलाई जनपक्षीय भूमिकामा ढाल्न हरेक कमिटीहरूले निर्देशन दिने, सहजीकरण र संरक्षण गर्ने तथा केन्द्रीय सरकारका लागि पार्टीले मन्त्रालयगत पार्टी टीम निर्माण गरी सो मातहत सम्बन्धित मन्त्री र अन्य निकायलाई परिचालन गर्ने हो भने मन्त्रालयको भूमिका समेत प्रभावकारी हुन्छ ।

ठीकै छ, ‘लभ एट फर्स्ट साइट’ सम्भव थिएन । किनभने यहाँ दुबै पार्टी एकअर्काका भिलेन बनेका थिए कुनै बेला । तर तार्किक लभ भने यहाँ झनै सम्भव देखिन्छ । फस्ट साइट लभ दुर्घटना हुने सम्भावना पनि हुन्छ । त्यो अर्थमा यो दुबै भिन्न ‘स्कूल अफ थट’बीचको तार्किक प्रेमका लागि नेतृत्वले गम्भीर कसरत र मेहनत गर्नुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!