नेकपाबाट विषयगत समिति सभापतिको दौडमा को-को ?

काठमाडौं, असोज ४ । प्रतिनिधिसभाको १० विषयगत समितिका सभापतिमा सत्तासीन र प्रतिपक्षी दलबीच भागबन्डा भएको छ । सत्तारूढ नेकपाले सत्तासाझेदार दल संघीय समाजवादी फोरम, प्रमुख विपक्षी दल कांग्रेसलाई समेत समेटेर समितिको नेतृत्व भागबन्डा गरेको हो ।

 

सभापतिको मनोनयन दर्ता आज हुँदैछ । निर्वाचन शुक्रबार भए पनि अधिकांश समितिका सभापतिको टुंगो बिहीबार नै लाग्ने सम्भावना छ । दलहरूले सहमति गरेकाले बिहीबार एउटा समितिमा एकजनाको मात्रै उम्मेदवारी मनोनयन पत्र दर्ता हुने सम्भावना छ ।

नेकपाबाट को-को बन्दै छन् ?

सत्तारूढ नेकपाले गत शुक्रबारको प्रतिनिधिसभाबाट समितिमा हेरफेर गरेकामध्येबाट सभापति बनाउने भएको छ । उद्योग समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सारिएकी जयपुरी घर्ती, कानुन, न्याय तथा मानवअधिकार समितिबाट राज्यव्यवस्था समितिमा सारिएकी शशी श्रेष्ठ, विकास समितिबाट महिला तथा सामाजिक समितिमा सारिएकी निरू पाल र महिला तथा सामाजिक समितिबाट अन्तर्राष्ट्रिय समितिमा सारिएकी पवित्रा निरौला खरेललाई समितिको सभापति बनाउने नेकपाको तयारी छ ।

 

‘तयारीका साथ आउनुहोला भन्ने संकेत मात्रै छ । अन्तिमसम्म के हुन्छ भन्नै सकिन्न’ समिति सभापतिको दाबेदार रहेकी एक सांसदले भनिन् । अर्थ समितिबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सारिएका पूर्वमन्त्री एवं नेकपा सांसद महेश बस्नेत सभापति बन्न सक्ने स्रोतले बतायो ।

 

त्यसबाहेक अर्थ समितिमा घनश्याम भुसाल तथा सुरेन्द्रप्रसाद पाण्डे, कानुन, न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल, महिला तथा सामाजिक समितिमा अमृता थापा, विकास तथा प्रविधि समितिमा गणेश पहाडी र यज्ञराज सुनुवारको चर्चा छ । तर, नयाँलाई प्राथमिकता दिने तयारी नेकपाको रहेको स्रोतले जनाएको छ । बिहीबार मनोनयन सकिएपछि शुक्रबार बस्ने समिति बैठकले सभापति निर्वाचित गर्नेछ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!