राजपाका कार्यकर्ताहरुले सरकारी कार्यालयमा कालो झण्डा गाडे

राजविराज, असोज ३ । बुधबार सप्तरी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले कालोझण्डा गाडेका छन् ।

मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तर्गत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले बताए ।

बुधवार बिहानैदेखि सदरमुकाम राजविराजसहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डा सहित प्रर्दशन गरेका छन् ।

प्रर्दशन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाडने कार्यक्रममा राजपाबाट स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् । उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् ।

राजपाले दिउँसो राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ ।

विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजपाले कालो झण्डा सहित प्रर्दशन गरिइरहदा जिल्लामा सुरक्षा ब्यवस्था समेत कडा बनाईएको छ । अघिल्ला दिनभन्दा बजार र ग्रामीण क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!