देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना

दमौली, असोज ३ । तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ ।

देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०-१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा बढीजसो संस्कृत र धार्मिक पुस्तक छन् । आधुनिक साहित्यका सामग्री तथा दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिका समेत राखिएको सो पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए ।

पुस्तकालयको संस्थापक डा गुरुप्रसाद सुवेदी रहेका छन् । महेश संस्कृत विद्यापीठका प्राचार्यसमेत रहनुभएका सुवेदीकै संरक्षकत्वमा पुस्तकालय सञ्चालन भइरहेको छ । स्थानीयवासी तथा यहाँ भ्रमणमा आउने तीर्थालु र भक्तजनले दैनिकरुपमा पुस्तकालयको भ्रमण गर्नुका साथै पुस्तक तथा पत्रपत्रिकाको अध्ययन गर्ने गरेको पौडेल बताउँछन् । इतिहास, वेद, उपनिषद् र पुराणका पुस्तकमार्फत देवघाटधामलाई पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा विकास गर्ने योजना रहेको उहाँनको भनाइ छ ।

“पुस्तकालयको विकास र विस्तारका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोग आवश्यक छ,” उनले भने । देवघाट गाउँपालिका–५ स्थित सार्वजनिक जग्गामा पुस्तकालय भवन निर्माण गरिएको छ । भवन साँघुरो भएकाले जग्गा र सुविधा सम्पन्न नयाँ भवन बनाउन स्थानीय तहसँग पहल गरिरहेको पौडेलले बताए । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले पुस्तकालयको विकास र विस्तार गर्न सक्दो सहयोग गर्ने बताए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!