कविताः ‘प्रेम अनि संभोग’

जसरी दिन र रातको सम्बन्ध छ
त्यस्तो सम्बन्ध, जहाँ दिनको उपस्थितिमा
रात बिलिन हुन्छ र
रात आउँदै गर्दा दिन ढल्दै जान्छ ।
कस्तो अटुट सम्बन्ध
अनबरत सम्बन्ध…
जुन एकपछी अर्को निश्चित छ ।।

जसरी जन्म र मृत्युको सम्बन्ध
त्यस्तो सम्बन्ध,
जब कोही जन्मिन्छ त जन्मसँगै
मृत्यु सङै जोडिएर आएको छ…

हो त्यसरी नै,
प्रेम र संभोग त्यस्तै उस्तै होलान
दिन र रात अनि जन्म र मृत्युसँगै
हो प्रेम दिन हो
जहाँ बिहानीजस्तै हरेक आशाहरु लिएर आउँछन्
र जन्मजस्तै
जहाँ सुनौला भोलिहरुका टुसा जागृत हुन्छन्
र संभोग रातजस्तै
जुन एकदम नितान्त हुन्छ
सुनसान हुन्छ तर
अन्तरालमा खलबली मचाइरहेको हुन्छ
र मृत्युजस्तै जुन
निश्चित छ तर भरोशीत छैन
निश्चित छैन तर अमान्य छैन …

जब प्रेमसँग संभोग जोडिएको हुन्छ
त प्रेम दिन जस्तै बिलिन भएर जाने छ
र मृत्युपछिको अस्तित्वहिन जन्मझै निरीह हुने छ
र सायद त्यही समय नै
भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ…

कमेन्ट गर्नुहोस्

error: Content is protected !!