नेइमारले गोल गर्न नसक्दा पिएसजीको हार, लिभरपुलको रोमाञ्चक जित

एजेन्सी । गएको सिजनमा उपविजेतामा सीमित रहेको इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको जारी सिजनमा भने उत्कृष्ट सुरुवात गरेको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार राति जर्गेन क्लोप्पको टिम लिभरपुलले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेन, पिएसजीलाई ३-२ ले हरायो ।

 

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले स्टार खेलाडी नेइमारसहितको टिम पिएसजीलाई निराश पारेको हो । लिभरपुलको जितमा डानियल स्टरेज, जेम्स मिल्नर र रोबर्टो फिरमिनोले गोल गरे ।

 

यस्तै पिएसजीका लागि थोमस मुनियर र केलियन एमबाप्पेले गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा फिरमिनोले गोल गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । गएको शनिबार प्रिमियर लिग अन्तर्गत टोटनह्यामसँगको खेलमा आँखामा चोट लागेका फिरमिनो चोटमुक्त भएर मैदान फर्किए अनि टिमका लागि महत्वपूर्ण गोल गरेर जिताए ।

 

यो खेलमा विश्वका महंगा खेलाडी नेइमारले गोल गर्न सकेनन् । समूह सी अन्तर्गतकै खेलमा नापोली र रेड स्टार बेलग्राडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!