स्याउ र स्ट्रबेरीभित्र सियो भेटिएपछि जनजीवन आतंकित

सिड्नी, असोज २ । केरा, स्ट्रबेरी र स्याउजस्ता फलहरूभित्र सियो भेट्टिएपछि  अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका देशमा जनजीवन आतंकित भएको छ ।

यस्तो समाचार सार्वजनिक भएयता बजारमा स्ट्रबेरीको मूल्य समेत निकै घटेको बताइएको छ । त्यहाँ फलफूलको व्यापार गर्ने कतिपय कम्पनीहरूले यस्ता फल आयात तथा बिक्री वितरण गर्न समेत बन्द गएका छन् ।

अस्ट्रेलियाका कम्तीमा पाँच ठूला कम्पनीले आफ्ना ग्राहकलाई बेचेका स्ट्रबेरी फिर्ता लिने घोषणा गरेका छन् ।

त्यस्तै न्यूजिल्याण्डका दुई कम्पनी काउन्टडाउन र फूडस्टफ्सले स्ट्रबेरी आयात बन्द गरिएको घोषणा गरेका छन् ।

अस्ट्रेलियाका विभिन्न सहरमा स्ट्रबेरीभित्र लुगा सिउने सियो पाइएको थियो । स्ट्रबेरीभित्र सियोको टुक्रा रहेकै कारण एकजना अस्पतालमा भर्ना भएको जनाइएको छ । उक्त घटनालगत्तै कयौंले स्ट्रबेरीभित्र सियो पाइएको खुलासा गरेका छन् ।

अस्ट्रेलियाको एक टेलिभिजन च्यानलका अनुसार मंगलबार एक महिलाले आफ्ना छोरीलाई खुवाउन काटेको स्याउभित्र पनि सियो फेला थिइन् ।

अस्ट्रेलियाको एबीसी च्यानलले गत शुक्रबार यस्ता तीन घटना प्रकाशमा आएको जनाएको छ ।

अस्ट्रेलिया सरकारले यस्तो घटना कसरी भयो भन्नेबारेमा छानबिनका लागि आदेश दिएको छ । क्वीन्सल्याण्डको प्रान्तीय सरकारले यस्ता घटनामा संलग्नका बारेमा जानकारी दिने व्यक्तिलाई ठूलो रकमले पुरस्कृत गर्ने घोषणासमेत गरेको छ ।

सरकारले स्ट्रबेरी, स्याउजस्ता फल काटेरमात्र खान सर्वसाधारणलाई सुझाव दिएको छ ।

एजेन्सी

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!