असोज ५ गतेदेखि सबै हलहरुमा ‘धूम ३’ प्रदर्शनमा, सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट

काठमाडौं । नायक जयकिशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको नेपाली कथानक चलचित्र धूम ३ ले पिजी सर्टिफिकेट पाएको छ ।

यही असोज ५ गते शुक्रबारदेखि सबै हलहरुमा रिलिजको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको हो । जसले गर्दा १६ वर्षमुनिका दर्शकहरुले यो चलचित्र हेर्न जाँदा अभिभावकसहित जानुपर्ने भएको छ ।

जयकिशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘धूम ३’ को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल केसी द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवम जयकिशन बस्नेत र शिव बि।क।को नृत्य निर्देशन रहेको छ ।

हजारौंको संख्यामा ट्रोलहरु बनाएर सामाजिक सञ्जालहरुमा ब्यापक चर्चा बटुलिरहेको यस चलचित्रमा जयकिशन बस्नेतसहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, सपना श्रेष्ठ, सुरबिर पण्डितलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र धूम २ ले समेत सोचेको भन्दा राम्रो ब्यापार गरेकोले धूम ३ बाट अझ धेरै आशावादी भएको नायक तथा निर्देशक बस्नेतले बताएका छन् । ‘काल्पनिक नाटकीय ढर्राभन्दा पनि मानवीय जिवनका यथार्थ दैनिकीमा आधारित रहेर चलचित्रको निर्माण गरिएकोले गर्दा पनि आम दर्शकहरुले चलचित्रलाई माया गर्नेछन्, उनको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!