अवैधरुपमा नदी दोहन गर्नेलार्इ ३८ लाख जरिवाना

मेलम्ची, असोज २ । सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ ।

असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभेटर, दुई डोजर, १२ ट्याक्टर, एक जेसिभी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसैगरी एक ट्याक्टर, दुई स्काभेटर र दुई मिनि टिपर कारवाहीको क्रममा रहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरी नै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । उनले आरोप पुष्टि भए कडा कारवाही गरिने साथै तस्करलाई सजिलै उन्मुक्ति नदिने पनि बताए ।

जिल्ला समन्वय समितिको खातामा जरिवानस्वरुप उठाएको रकम जम्मा भए पनि खाता भने बन्द छ । प्रदेश सरकारले खाता सञ्चालनको लागि नयाँ कार्य विधि नबनाएकाले सो रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए । बर्खाका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम भए पनि जिल्लाका सानाठूला सबैजसो नदीमा तस्करले गिट्टी, बालुवा निकाल्ने गरेका छन् । उनीहरुले नदीको धार नै परिवर्तन हुने गरी जथाभावी नदीजन्य पदार्थ निकाल्ने गरेका छन् । यसले नदी आसपासका बस्ती, विद्यालय, पुलसमेत जोखिममा परेका छन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!