दसैँ-तिहारको मुखमा महँगिने भयो चिनी

काठमाडौँ, भदौ २ । सरकारले चिनी आयातमा सीमा निर्धारण गरेपछि चाडबाडको मुखमा चिनी महँगो हुने भएको छ । आइतबार बसेको मन्त्री परिषदको बैठकले सरकारले वार्षिक आयात गर्ने चिनीको परिणाम तोकेपछि बजारमा चिनी अभाव हुनसक्ने विश्वास गरिएको छ ।

मन्त्रीपरिषदले स्वदेशी चिनी उद्योग प्रवर्द्धनका लागि वार्षिक एक लाख टन मात्रै चिनी आयात गरिने निर्णय गरेको हो ।
नेपाली उद्योगबाट उत्पादित चिनीले आयातीतसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री नभएको भन्दै व्यवसायीले आयातमा रोक लगाउन लामो समयदेखि लबिङ गरिरहेका थिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भई नेपालमा अत्यधिक आयात गरेर मौज्दात गरिसकेका व्यापारीले पनि आयात रोक्ने वा कोटा निर्धारणका लागि लबिङ गरेका थिए ।

अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको विमतिकै बीच प्रधानमन्त्रीको इच्छाअनुसार यो निर्णय भएको दुई मन्त्रालयका अधिकारीको भनाइ छ । ‘यस वर्ष (२०७५/७६) का लागि चिनीको कोटा १ लाख टन निर्धारण गरिएको छ, त्यति मात्रै चिनी आयात गर्न पाउँछन्,’ सरकारका प्रवक्ता एवं सूचनामन्त्री गोकुल बाँस्कोटाले भने, ‘बाँकी यहीं उत्पादित चिनीले हामीलाई पुग्छ ।’

उता कोटा निर्धारणपूर्व नै चिनीको सरकारले चिनीको मूल्य तोक्न नसकेकोले मूल्य बढ्ने र बाजारमा चिनीको अभाव देखिने उपभोक्ता अधिकारकर्मीले बताइरहेका छन् ।

नजिकिँदो चाडबाडको मुखमा सरकारले गरेको यो निर्णयले चिनी महँगो पर्ने र अभाव हुने जोखिम रहेको सरोकारवाला बताउँछन् । हाल भारतमा चिनीको खुद्रा मूल्य बढीमा ३३/३४ भारतीय रुपैयाँ (नेपाली करिब ५४ रुपैयाँ) पर्छ ।

त्यो चिनी भन्सारमा लाग्ने शुल्क र ढुवानी भाडासहित नेपाल भित्र्याएर करिब ६५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तर, नेपाली उद्योगबाट उत्पादित चिनीको कारखाना मूल्य प्रतिकिलो करिब ५७ देखि ६३ रुपैयाँ छ । यो चिनी बजारसम्म आइपुग्दा ७० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ । २०७३ चैत र २०७४ वैशाखमा स्वदेशमा उत्पादित चिनी ८५ देखि ९५ रुपैयाँसम्म बिक्री भएको थियो ।
कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!