कीर्तिपुरमा दिदीबहिनीमाथि एसिड आक्रमण !

हाम्रो यो देशमा के भइरहेको छ यस्तो ? दिन प्रतिदिन यस्तै यस्तै घटनाहरु बढिरहेका छन् ।

कहिले बलात्कार, कहिले एसिड आक्रमण आदि । चाहे त्यो ९ महिनाको बालिका होस् वा १३ वर्षीया किशोरी । छोरी-चेलीलार्इ यो समाजमा खुलेर बाँच्न पाउने अधिकार छैन त । किन छोरी–चेली भनेपछि यी नरपिचासहरु गिद्देदृष्टि राख्न अगाडि बढिहाल्छन् ? । यी नरपिचासहरु के का लागि यतिसम्म गिर्न पनि तयार भएका छन् ?

समाजमा छोरी चेली खुलेर हिँड्न पाउने कुनै अधिकार छैन त ? कानूनमा चाहिँ छोराछोरी समान भनेर उल्लेख गरेका हुन्छन् । वास्तविकमा चाहिँ खोइ त ती अधिकार ? कहाँ गए ती अधिकार ? दिनहुँजसो यस्ता घटना  बढिरहेका छन् ? तर सरकार मौन छनु, सुरक्षा निकाय पनि मौन ।

दुई महिनाअघि मात्र कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी अझैसम्म पक्राउ गर्न नसकिएको अवस्थामा फेरि घटना अगाडि आएको छ, किशोरीमाथि एसिड आक्रमण । हो, कीर्तिपुरमा सम्झना र सुस्मिता दिदीबहिनीमाथि नै एसिड आक्रमण परेकी छन् ।

मुन्टो उठाउन सक्दिनन्। हातखुट्टा क्विन्टलको भारी जस्तो लाग्छन्। भेन्टिलेटरभित्र सासले बोल्छिन्, ‘मलाई एसिड हान्नेले के पायो ?’ अनुहार र छाती पूरै एसिडले जलेपछि आफ्नै बोली बिरानो जस्तो भएको छ।

यी पीडा कीर्तिपुर अस्पतालको आईसीयूमा उपचाररत १७ वर्षीया सम्झना दासको हो । उनको पीडा शब्दमा व्यक्त गर्न सकिन्न, न आकलन गर्नै सकिन्छ। उनको अवस्था चिन्ताजनक छ। रौतहट चन्द्रपुर–६ की सम्झनालाई मध्यरातमा घरमै एसिड आक्रमण भएको थियो। सँगै सुतेका दिदीबहिनी सम्झना र सुस्मितालाई राति १२ बजे अपरिचित व्यक्तिले एसिड हानेर फरार भयो ।

‘ममी यहाँ दुख्यो, ऐया यता दुख्यो, हात चलाउनै मिल्दैन’, बर्बरी आँसु झार्दै १५ वर्षीया सुस्मिता दासले छेउमा उभिइरहेकी सानी आमासँग बिलौना गरिरहेकी छन् । ‘नरोऊ छोरी रोएपछि झन् दुख्छ, केही दिनमा ठीक भइहाल्छ नि’, काखमा पाँच महिने छोरी बोकेर एकोहोरिएकी परमशीला हत्तपत्त सुस्मितालाई थम्थमाउँछिन् । यसो गर्दा काखे बच्चालाई अप्ठ्यारो भएर हुनसक्छ, ऊ चिच्याएर रुन थाल्छ । त्यसपछि सुस्मिताको बेडछेउमा बच्चा सुताउँछिन् परमशीला। घर नजिकै रहेको जनज्योति माविमा अध्ययन गर्दै थिए—सम्झना ७ कक्षा र सुस्मिता ६ कक्षामा ।

हातमा केही रसिद, डाक्टरको प्रेस्क्रिप्सन तथा दुवै छोरीको रिपोर्ट बोकेर जादोलाल अस्पतालमा तलमाथि गरिरहेका थिए। उनलाई पनि कहाँ चैन छ र ? कहिले जेठी छोरीको बेडमा पुगेर टोलाउँछन् त, कहिले माइली छोरीको बेडमा पुगेर सान्त्वना दिन्छन् । उनी आफैं भने छोरीहरूको औषधोपचार कसरी गर्ने होला भन्ने चिन्तामा छन्। ‘मेरा निर्दोष नानीहरूलाई कुरूप बनाउने अपराधीले मलाई पनि मार्न सक्छ’, उनले भने।

तीजको दर खाने दिन थियो। बुबा जादोलाल दास खाना खाएर आफूले चलाइरहेको पुल हाउसमा सुत्न गए। १२ वर्षको छोरो लिएर उनी पुल हाउस गएका थिए। घरमा उनकी पत्नी र काखे नानी एउटा कोठामा, सम्झना र बहिनी सुस्मिता अर्को कोठामा सुतेका थिए ।

ढोका बिग्रिएको निकै दिन भइसकेको थियो । छोरीहरूले मर्मत गर्न भनेका पनि हुन्। तर जादोलालले मर्मत गराउन पाएका थिएनन्। मध्यरातमा कसैले बाहिरैबाट ढोका खोल्यो र सुतिरहेकी सम्झनामाथि एसिड खन्याइदियो। सम्झनासँगै सुतेकी सुस्मिताको पनि घाँटी र हातमा एसिड पर्‍यो ।

निदाइरहेका दिदिबहिनीलाई एक्कासी अनुहार र हातमा पोल्न थाल्यो । के भयो थाहै भएन। रुँदै आमा सुत्ने कोठामा पुगे उनीहरू। घरमा रुवाबास चलेको सुनेर छिमेकी पनि आइपुगे । तेजाव नै खन्याइएको थाहा पाए उनीहरूले। दिदीबहिनीको शरीरमा पाइपबाट पानी खन्याइदिए। आगो लागेको भए पो पानीले निभाउँथ्यो । तर, उनीहरूको शरीरमा तेजाब पसिसकेको थियो, कसरी निभ्थ्यो। पानी खन्याउँदा झन् बढी पोल्न पो थाल्यो ।

छिमेकीको स्कुटर मागेर बुवा जादोलालले चपुर अस्पताल पुर्‍याए । अस्पतालले यहाँ उपचार हुन सक्दैन भनेर काठमाडौं रिफर गर्‍यो। आँसु टिलपिलाउँदै जादोलाल भन्छन्, ‘कसले किन तेजाब हानेर गयो, अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’ कसैसँग कुनै झगडा र रिसइबी पनि नभएको उनले जानकारी दिए ।

जेठी छोरी सम्झनाको अनुहार र छातीको भाग एसिडले डढेको छ । खुट्टाको केही भागको मासु काटेर अनुहारमा सर्जरी गरिएको छ। उनको सोमबार मात्रै अपरेसन भयो । उनको शरीरका ३५ प्रतिशत अंग एसिडले जलाएको छ । उनको अवस्था केही गम्भीर छ। बहिनी सुस्मिताको भने हात र घाटीमा तेजाबले नराम्ररी असर गरेको छ ।

उनीहरूको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । तर कहिले ठीक हुन्छ, केही टुंगो छैन । अहिलेसम्म दुई लाख ५० हजार रुपैयाँ उपचारमा सकिइसकेको छ। जादोलाल भन्छन्, ‘भएको जग्गाजमिन सबै बन्धकी राखेर गत साल पुल हाउस खोलेको थिएँ। रिन तिरेर सकिएकै छैन । अब के बेचेर छोरीहरूको उपचार गराऊँ ? ’

गत शनिबार उनीहरूकै जिल्लाका नेता माधवकुमार नेपाल अस्पतालमा आएर सहयोग गर्ने आश्वासन दिएका थिए। तर अहिलेसम्म केही सहयोग नपाएको जादोलाल बताउँछन् । ‘अस्पतालमा १० हजारभन्दा माथिको बिल उधारो राख्न अप्ठ्यारो पर्दो रहेछ’, उनले गुनासो गरे।

निम्न आय भएको आफूलाई लाखौं लाख जुटाउन निकै सकस भएको उनी सुनाउँछन्। गाउँमा आफन्तले चन्दा उठाएर केही सहयोग गरेका छन्, विदेशमा बस्ने उनकी जेठी श्रीमतीले पनि ५० हजार ऋण गरेर पठाइदिएकी थिइन् । ५० हजारले अस्पतालमा दुई दिन पनि टिक्न नसकिने उनले गुनासो गरे । ‘एक ठाउँको छाला काटेर अर्को ठाउँमा टाल्लुपर्ने रहेछ। यो उपचार पद्धति नै अति महँगो रहेछ, जुन हाम्रो पहुँचभन्दा माथि हुने रहेछ ।’

अन्तर्जातीय बिहे गरेका जादोलालकी पहिलो श्रीमती धनमाया पैसा कमाउन भनेर विदेश गइन् । पछि उनको मन मोडियो, छुट्टिएर बसौं भनिन्। त्यसैले उनीहरूले सहमतिमै डिभोर्स गरे । तीन छोराछोरीकी आमा पतिसँग डिभोर्स गरेर कहाँ स्वतन्त्र बाँच्न सक्थिन् र रु उनका मुटुका टुक्रा त जादोलालसँगै छुटेका छन् । ‘आमाको मन हो छोरीको यो हालत भएको सुन्नुपर्दा उसलाई कस्तो भएको होला’, धनमायाको मायाले भक्कानिन्छन् जादोलाल ।

भन्छन्, ‘एक पटक जोडिएको मन डिभोर्सको कागजले छुटाउन नसक्दो रहेछ । केही दिनमा आउँछु भनेकी छन् धनमायाले ।’ हाल परमशीलासँग दोस्रो बिहे गरेका छन्, जादोलाल। उनीहरूकी एउटी पाँच महिनाकी छोरी पनि छन्। तीन छोरी र एक छोराका साथ दुःखसुख दिन चलाएकै थिए उनले । एकाएक महाप्रलयको हुन्डरी आयो । ‘यसै त मधेसमा गरिबकी छोरीको बिहे हुनै समस्या छ, त्यसमाथि अनुहार नै कुरूप बनाइदियो अपराधीले, अब कसले बिहे गर्ला मेरी छोरीहरूसँग’, उनी गुनासो गर्छन्।

घरनजिकैको धामी काम गर्ने छिमेकीले छोरीहरूलाई बेलाबेला जिस्क्याइरहन्थ्यो । तर छोरीहरूले उनलाई ठूलो बुवा भन्ने गर्थे। जादोलालसँगै काठमाडौं आएको थियो । उनी भन्छन्, ‘उसले निकै शंकास्पद व्यवहार गर्‍यो । उसको हातमा तेजाबले पोलेको दाग पनि थियो। उसको चप्पलमा पनि तेजाबले खाएको निसानी भेटिन्थ्यो । मोबाइल पनि घरी अफ गर्ने, घरी अफ गर्ने गरेको थियो। घरि मोबाइल हराएको नाटक गर्थ्यो । अस्पतालमा छानबिनमा आएको पुलिसलाई शंका लागेछ । ‘मलाई पनि शंका लागेको थियो, हिजो कीर्तिपुरबाट उसलाई पक्रेर रौतहट लगेको छ’, उनले भने, ‘पुलिसले छानबिन गरिरहेको छ ।’ अब छिट्टै नै अपराधी पत्ता लाग्नेमा उनी आशावादी देखिन्छन् । उक्त छिमेकीले घटना भएको राति पनि छोरीलाई बारम्बार फोन गरेको र छोरीले फोन नउठाएको कल डिटेल्समा देखिएको जादोलालले जानकारी दिए ।

अपराधी नजिककै हुनुपर्छ भन्नेमा सानीआमा परमशीला पनि ढुक्क छिन् । घरबाहिरको चिम हराउनेबाहेक घरमा अन्य सामान केही गरिएको छैन । उनी भन्छिन्, ‘तेजाबको जलनबाहेक अपराधी समाउने अर्को कुनै प्रमाण पनि भेटिएको छैन ।’

छोरीहरूको कोठामा ढोका लाग्दैन भन्ने कुरा छिमेकीलाई बाहेक अरूलाई थाहा नभएको उनको भनार्इ छ । ‘त्यही छिमेकीले नै तेजाब हानेको हुनुपर्छ’, उनले दाबी गरिन् । अन्नपूर्णपोष्टबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!