भुटान निर्वाचनः प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो

भुटान, असोज २ । भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ ।

 

नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्याउन सफल भएका छन् । नतिजाले सत्ताधारी दल पीडीपीले आगामी अक्टोबरमा हुने दोस्रो चरणमा भाग लिन पाउने छैन ।

 

प्रधानमन्त्री थोब्गेले ट्वीटरमा एक सन्देश लेख्दै जनताले प्रारम्भिक चरणमा दिएको मतदान आफ्नो दललाई स्वीकार्य भएको बताए । उनले निर्वाचनमा दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल डीएनटी र डीपीटीलाई बधाइ दिएका छन् । ट्वीटरमार्फत दिइएको बधाइ सन्देशमा भनिएको छ, ‘म डीएनटी र डीपीटी तथा उनीहरूका उम्मेदवारले तेस्रो संसदीय निर्वाचनको प्रारम्भिक चरणमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा धन्यवाद ज्ञापन गर्दछु ।’

 

निर्वाचनमा सहभागिता जनाएकोमा भुटान कुएन-न्याम पार्टी (विकेपी) का अध्यक्ष तथा उक्त दलका उम्मेदवारलाई पनि उनले बधार्इ दिएका छन् । विकेपीले निर्वाचनमा सबैभन्दा कम मतदान ल्याएको छ भने उक्त दलले आगामी चरणमा भाग लिन पाउने छैन ।

 

भुटानमा सन् २००८ मा प्रजातन्त्रको स्थापनापछि भएको यो तेस्रो संसदीय निर्वाचन हो । भुटानी संसदीय निर्वाचनमा विपक्षी दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) को जितलाई शरणार्थी नेताले मुलुकको प्रजातान्त्रिक आन्दोलनका सन्दर्भमा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!