बुढी पोल्दै ७ नम्बर प्रदेशवासी, काँक्रो चपाएर थुक्ने चलन

बैतडी, अचम्मका चलनहरु हुन्छन् समाजमा । यस्तै एउटा चलन छ प्रदेश नम्बर ७ मा ।

पर्वको नाम नै अनौठो छ– बुढी पोल्ने ।

महिनादिन अघि एउटा झांगिएको बुटा÷रुख काटेर गाड्ने र आजका दिन त्यसलाई साँझ पख जलाउने चलन छ पहाडी जिल्लाहरुमा ।

र, यसलाई भनिन्छ बुढी पोल्ने ।

यो पर्वको वास्तविकता ठ्याक्कै के हो भन्ने देखिन्न । तर कतिपयले यसलाई कृष्ण र पुतनासँग जोडेको पाइन्छ ।
जलिरहेको सुकेको रुखमा काँक्रो चपाएर फाल्दै ‘थुई बुढी थुई’ भन्ने चलन कहिलेदेखि चल्यो भन्न सकिन्न ।
तर कतिपय लेखनमा भने असोज सङ्क्रान्तिका दिन राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ ।

कृष्ण चरित्र र अन्य हिन्दु साहित्यमा पुतना भन्ने राक्षसीले कंस राजाको आदेश अनुसार सबै बच्चालाई मार्दै आएको अवस्थामा कृष्ण्लाई समेत आफ्नो दूध खुवाउन खोजेको तर कृष्णले ऊ राक्षसी हो भन्ने चिनेर मारेको कथा रहेको छ ।
त्यसैले कृष्णका ग्वालाहरुले यो दिनको सम्झनामा पुतनाको पुतलास्वरुप रुख काटेर गाडने र आजको दिन पोल्ने चलन चलेको बताइन् छ ।

कतिपय समुदायमा पुतनाकोस्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन छ ।

राक्षसनीको आकृतिबाट जलेको खरानी पशु चौपायामा लगाए कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ । पर्वमा रातभरी डेउडा, भुवा जस्ता सांस्कृतिक कार्यक्रम गर्ने चलन छ ।

कुमाउँ र गढवालमा भने यो पर्वलाई खतडुवा पर्वका रुपमा मनाइन्छ । ग्वालाहरुको पर्व भनेर भनिएपनि कुमाउँको गढवालमाथि विजय उत्सवका रुपमा समेत यसलाई मनाईन्छ । लूतो फाल्ने भनेर नेपालतर्फ मनाईन्छ भने काली पारि भने यसलाई सबै प्रकारका गलत आत्माहरुको नासका रुपमा मनाउने गरिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!