प्रहरीको ज्यादती, अपराधी खोजभन्दा लट्ठी बर्साइयो

कञ्चनपुर, असोज १ । भीमदत्त नगरपालिका १८, निम्बुखेडाकी ३३ वर्षीया मञ्जु गिरी घरमै किराना पसल राखेर परिवारको गुजारा चलाइरहेकी छन् । पसलको सामान पनि आफैं किनेर ल्याउँछिन् । बिहान सामान ल्याउने र दिनभरि पसल कुरेर बस्ने । यसरी नै उनको दैनिकी चलिरहेको थियो ।

 

साउन ११ मा निर्मलाको शव भेटिएदेखि नै उनी पनि अपराधी पत्ता लगाउनुपर्छ भन्दै आन्दोलनमा लागिन् । घरपरिवारलाई थाहै नदिई ससाना बालबालिका छडेर उनी करिब एक महिना आन्दोलनमा होमिइन् । भदौ ४ गते प्रहरीले दिलीप विष्टलाई अपराधीका रूपमा सार्वजनिक गरेको दोस्रो दिन आन्दोलन चर्कियो ।

 

उक्त दिन पनि मञ्जु सदाझैं बिहानै महेन्द्रनगर बजार पुगिन् । बजारमा आन्दोलन चर्किसकेको थियो । केही अधिकारकर्मी जिल्ला प्रशासनअगाडि रिले अनशनमा थिए । दिनभरि आन्दोलनमै रहेकी उनलाई साँझ जिल्ला प्रशासनअगाडि प्रहरीले निर्घात कुटपिट गर्‍यो ।

 

सादा पोसाकमा आन्दोलनमा घुसेका प्रहरीले नै ढुंगा हानेर आन्दोलन भडकाउन खोजेर प्रहरीले लाठी चार्ज गरेको उनी बताउँछिन् । ‘प्रहरीले आन्दोलन उग्र भएको भन्दै लाठी चार्ज र अश्रुग्यास प्रहार हुने भन्यो, त्यही बेलादेखि लाठी बर्सायो,’ मञ्जुले भनिन्, ‘सबैभन्दा आगाडि म नै थिएँ, प्रहरीले मेरो कपाल समातेर धेरै कुट्यो, त्यसपछि नालीमा फालिदियो ।’

 

मञ्जु नालीमा फालिएपछि केहीबेर बेहोस भइन् । जब त्यहाँ अश्रुग्यास प्रहार हुन थाल्यो, तब होस खुल्यो तर भाग्न सकिनन् । जेनतेत घस्रिँदै सडकमा पुगिन् । त्यतिबेला प्रहरी र आन्दोलनकारी केही टाढा पुगिसकेका थिए । उनलाई एकजना महिलाले उठाएर केही तलसम्म पुर्‍याइदिइन् । ‘घरमा नबताएर आन्दोलनमा आएका कारण अस्पताल जानुभन्दा जसोतसो घर पुगेर चोट लुकाउने कोसिस गरेकी थिएँ,’ उनले भनिन्, ‘तर पछि त बसेको ठाउँबाट उठ्नै सकिनँ ।’ उनको हातखुट्टा, कम्मर र छातीमा चोट लागेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

 

त्यहाँबाट आन्दोलनमै रहेका महिलाहरूले उनलाई महाकाली अञ्चल अस्पताल पुर्‍याए । केहीबेर जाँच गरेपछि उनी बेहोस भइन् । राति नै उनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याइयो । एक्सरेमा उनलाई भित्री चोट नरहेको देखियो तर मांसपेशीमा चोट भएकाले बेड रेस्ट गर्नुपर्ने भनेपछि दोस्रो दिन औषधि ल्याएर मञ्जु घर फर्किइन् । ‘त्यति बेलादेखि अहिलेसम्म रेस्टमै छु,’ उनले भनिन्, ‘अहिले पनि हिँड्न सक्ने अवस्था छैन ।’ उनको टाउकामा पनि चोट छ । दुख्ने र रिंगटा लाग्ने भइरहन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!