सरकारी सैनिकले गोली चलाउँदा नेपाली शान्ति सेनाका जवान घाइते

काठमाडौँ, भदौ ३१ । अफ्रिकी मुलुक दक्षिण सुडानका सैनिकले गोली चलाउँदा शान्ति सैनिकको रुपमा तैनाथ नेपाली सेनाका एक जवान घाइते भएका छन्।

 

दक्षिणी सुडानको सेन्ट्रल इक्वेटोरिया नजिकै येइ नगरमा शनिबार सुडानी सैनिकले चलाएको गोली लागी नेपाली शान्ति सैनिक घाइते भएका हुन् । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले शनिबार (३० भदौ) गस्तीमा रहेको शान्ति सेना उपर सुडानमा गोली प्रहार भएको बताए ।

 

‘घटनामा एक नेपाली शान्ति सैनिक घाइते भएका छन्, उनको घुँडामा गोली लागेको छ’ भण्डारीले भने, ‘ती सैनिक अहिले खतरामुक्त छन्।

 

घाइते सैनिकको नाम भने सार्वजनिक गरिएको छैन। खुट्टामा गोली लागी घाइते भएका सैनिकलाई शान्ति सैनिकको शिविरबाट हवाई उद्धार गरी राजधानी जुवा लगिएको दक्षिण सुडानस्थित राष्ट्र संघीय मिसनले जनाएको छ।

 

दुई पानी ट्याङ्करसहित शान्ति सैनिकका लस्करमा चार सवारी साधन रहेका थिए। ‘‘ती सैनिकले एउटा सवारी साधनमा गोली प्रहार गरे, गोली नेपाली सैनिकको खुट्टामा लाग्न पुग्यो, गोली प्रहार गर्ने सैनिक भीडमा भाग्यो,’ दक्षिण सुडानका लागि राष्ट्र संघका विशेषदूत डेभिड शेएररले भनेका छन्, ‘गैर सैनिक व्यक्तिलाई घाइते बनाउन नचाहेको कारण सैनिकहरुले जवाफी फायर गरेनन् ।’

 

सिएररले दक्षिणी सुडानी जनतालाई सहयोग गर्न आएका राष्ट्र संघीय सैनिकमाथिका प्रत्यक्ष आक्रमण अस्वीकार भएको बताएका छन् । उनले यो पछिल्लो घटना दक्षिण सुडानी सशस्त्र फौजमा कमाण्ड र कन्ट्रोल कमजोर रहेको उदारहण भएको बताएका छन्।

 

‘नियन्त्रणमा नआएका तत्वहरुले त्यसक्षेत्रमा मानवअधिकार उल्लंघनको घटनालाई निरन्तरता दिएका छन्’ सिएररले भनेका छन्, ‘त्यसप्रकारका फौजलाई सरकारले आफ्नो नियन्त्रण गर्न आवश्यक छ।’

 

शनिबार बिहानै सेन्ट्रल इक्वाटोरिया क्षेत्रको काजो केजी क्षेत्रमा सरकार र विपक्षी फौजबीच झपड भएको थियो। दक्षिण सुडानमा राष्ट्रपति साल्भा किर र पूर्व उप राष्ट्रपति रिक माचर समर्थन सैनिकबीच लामो समयदेखि झडप हुँदै आएको छ। नेपालखबरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!