राति पौने १० बजे सुख्खा पहिरो जाँदा २ कामदारको मृत्यु, ४ गम्भीर घाइते

काठमाडौं, भदौ ३१ । रसुवामा पहिरो जाँदा दुई कामदारको मृत्यु भएको छ ।

एक चिनियाँ नागरिकसहित ९ जना घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाले नेपालखबरलाई दिएको जानकारीअनुसार राति पौने १० बजे खसेको सुक्खा पहिरोमा परी निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत दुई कामदारको मृत्यु भएको हो।

हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरोमा परी मकवानपुरका हेटौंडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कुप्रोला र रुकुम भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोक्काको मृत्यु भएको हो।

यसैगरी घटनामा घाइते भएका नौ जनामध्ये चिनियाँ नागरिक एमआर। वाइओ पिएचसी, रुकुम भूमे–२ का टेकमान बुढा, सोही ठाउँका जगदीश रोक्का र रुकुमकै कृष्णपुर नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

थप उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको छ। चिनियाँ नागरिक, टेकमान र जगदीशको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने प्रकाशलाई काठमाडौं ल्याइँदै छ।

अन्य घाइतेको अवस्था सामान्य रहेको रसुवा प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!