फेरि कञ्चनपुरमै २ बालिका बलात्कृत !

कञ्चनपुर, भदौ ३१ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका २ जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

 

दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी-२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै बालिका दुई साताअघि बलात्कृत भएको जानकारी दिए’, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।’ विष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

विष्टले भदौ १५ गते शुक्रबार दुवै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लगी बलात्कार गरेको परिवारले आरोप लगाएको छ ।

 

‘१५ दिनअघि नै स्कुलबाट घर फर्किंदा छोरीहरूमाथि बलात्कारको घटना भएको रहेछ’, एक बालिकाकी आमाले भनिन् । ‘घरमा भन्यो भने मारिदिन्छु भन्दै डर देखाएको रहेछ’, दुवै बालिकाले डरका कारणले दुईसातासम्म घटना लुकाएर राखेकाले ढिलो घटना बाहिर आएको परिवारले जनाएको छ ।

 

अर्की बालिकाकी आमाले भनिन्, ‘उनीहरू डराएर बाहिर कहीं भन्न सकेनन् । मैले थाहा पाएपछि बल्ल प्रहरी कार्यालयसम्म पुगेकी हुँ ।’ विष्ट सधैं घरमा आइरहने र परिवारसँग समेत नजिकका मानिस भएको उनले बताइन् । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!