राष्ट्रियसभाद्वारा भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ सहित सात विधेयक स्वीकृत

काठमाडौँ, भदौ ३०। राष्ट्रियसभाको आजको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राखेका थिए ।

‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गरे । उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरे ।

‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गरेका थिए । आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेका थिए ।

भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्री पद्माकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक ३१ गते आइतबार ११ बजे बस्नेछ ।

रासस

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!