पुलिसहरुको कमाउने धन्दा बनेको थियो दरबारमार्ग– डिएसपी मल्ल

दान बहादुर मल्ल, नायब प्रहरी उपरिक्षक अर्थात् डिएसपी । सुरक्षा संयन्त्रभित्र एउटा आशलाग्दो र भरोसा गरिएको नाम । मल्लले लामो समय नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग बिताए । उनको सुरक्षा कमाण्ड सम्हालेर । सूचनामा पकड राखेर र आम मनोविज्ञानलाई सूक्ष्मरुपमा अध्ययन गर्ने स्वभाव भएका मल्ललाई संगठनभित्र सरल, मिलनसार र अध्ययनशील प्रहरी अधिकृतका रुपमा समेत लिइन्छ । मल्लले अहिले भने राजधानीको सबैभन्दा संवेदनशील क्षेत्र दरबारमार्गको वृत्तको जिम्मेवारी लिएका छन् । मल्लसँग सुरक्षालगायतका समसामयिक विषयमा लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

***

लामो समय नेपालकै चर्चित व्यक्तित्वको सुरक्षाको कमाण्ड सम्हालेर दरबारमार्गमा आउनुभएको छ । कस्तो रह्यो अहिलेम्म यहाँको यात्रा ?
मैले कुशलतापूर्वक यसअघिको जिम्मेवारी निर्वाह गरे । त्यतिबेला त्यहाँ जसरी हामीले राम्रो पफर्मेन्स दिएका थियौं अहिले पनि त्यही तहको पफर्मेन्स दिने मेरो प्रयास रहेको छ । छोटो समयमा पनि उल्लेख्य कार्यप्रगति गर्न सकेकै कारण गत साउन महिनामा हामी पुरस्कृत समेत भयौं ।
हामीले अझै परिणाममुखी काम गर्नुपर्ने देखेका छौं । यो अवार्ड मिल्ने अवस्थासम्म आउँदा हामी धेरै नै आरोह अवरोह पार गरेका आएका छौं । अवार्ड पाएपछि झनै योजनाबद्धरुपमा अघि बढेका छौं ।

कस्तो थियो तपाईले यहाँको जिम्मेवारी लिँदाको अवस्था ?

म यहाँ आउँदा दरबारमार्गको अवस्था एकदम लथालिङ्ग थियो । यहाँ कोही पनि पुलिसको कोठा यस्तो थिएन ।सबै पुलिसहरू आ-आफ्नो तालमा व्यस्त हुन्थे । अर्को शब्दमा भन्दा सबैले आ-आफ्ना धन्दा चलाइरहेका थिए ।

म आउने बेला यहाँको सबै कुराहरू अध्ययन गरेर मात्र आएको थिएँ । यहाँको मुख्य समस्याको जड के हो भनेर प्रष्ट भएर योजनाबद्ध रुपमा आएकाले त्यो अनुसार काम गर्न कुनै गाह्रो भएन र त्यही अनुसार काम गर्न सुरु पनि गरें । त्यसैले अहिले हामी यो अवस्थामा आउन सफल भयौं  ।

बेथितिको कुरा गर्नु भयो ? कस्तो बेथिति थियो र ?

एकातिर बाह्य व्यवस्थापनको चुनौती थियो भने अर्कोतर्फ हाम्रो आन्तरिक शुद्धीकरण आवश्यक थियो । यो एउटा सेवा दिने संस्थाको रुपमा नभई एउटा पसल जस्तो थियो । त्यसपछि जसले त्यस्ता खालका काम गरेका थिए, ती सबैको पहिचान गरेर भोलिपल्टैदेखि यहाँबाट विस्थापित  गर्ने काम गरियो । दरबारमार्गमा भएका घुमुवाहरूको आफ्नै अवस्था थियो । उनीहरूले पनि आफ्नै धन्दा संचालन गरेका थिए । ती सबैलाई मैले त्यहाँबाट विस्थापित गरें । यहाँको शाखामा रहेका प्रहरी कर्मचारीले बाहिरतिर गएर ह्याण्डल गर्ने अवस्था थियो । कतिपय अनैतिकता, आवेगपूर्ण व्यवहार भइरहेको अवस्था पनि थियो । हामीले प्रहरीभित्र उत्साह फैलाउने र सबैप्रकारका गलत प्रवृत्तिको अन्त्य गरेर मात्रै बाह्य व्यवस्थापन गर्न सकिन्छ भनेर अभियान शुरु गरेपछि हामीकहाँ  ९० प्रतिशत प्रहरीहरू नयाँ आएका छन् । हामी सफल हुनुका पछाडि पनि यही कारण रहेको छ ।

हिजो एउटा भीआईपीको सुरक्षा र आज जनतासँग सोझै जोडिएको व्यवस्थापनजन्य सुरक्षाको काम । यो दुईवटा फरक प्रकृतिका अनुभवले अप्ठ्यारो भएन र ?

कामको प्रकृतिको हिसाबले हिजोको भूमिका र आज फरक छ । तर हिजोको भूमिकाले मलाई यो भूमिका निर्वाह गर्न झनै मद्दत गरेको छ । म उता भएको बेला पनि सकारात्मक भई त्यही हिसाबले काम गरिराखेका थिएँ । जनतासित त्यहाँ पनि जोडिन पाएको थिएँ । सूचनाको एउटा नेटवर्क बनेको थियो । बाहिर भित्रका सबै कुराको अपडेट हुन्थ्यो । अर्कोतर्फ अपराधीको गतिविधिहरूको अपडेट गरिराख्ने भएकोले कसले कहाँ के गल्ती गर्छ ? कसले चाहिँ के गर्नुहुँदैन ? भन्ने विषयमा त्यहाँ पनि म कमाण्डरकै रुपमा काम गरेका थिएँ । फेरी विगतमा पनि आपराधिक ट्रेण्ड सम्बन्धी काम गरेको हुनाले यहाँ यस्तो केही गाह्रो चाहिँ भएन ।

दरबारमार्ग सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिन्छ । के पाउनुभयो यहाँको सुरक्षा चुनौती ?

देशको केन्द्र भनेको काठमाडौं हो, काठमाडौंको केन्द्रविन्दु ठाउँ भनेको राजदरबारमार्ग हो । यहाँ के हुन्छ भनेर विशेष गरेर मिडियादेखि सानाठूला मान्छेसम्मले नोटिस गरेका हुन्छन् । अझ देशका बिभिन्न भागमा हुने अपराधको कतै न कतै एउटा कनेक्सन यो क्षेत्रसँग हुन्छ । यहाँ विशेषगरी रात्रीकालीन व्यवसायका रूपमा डान्स बारहरू संचालन भइरहेका छन् । दिउँसो तथा राति व्यवसायहरू चलिरहने हुनाले यहाँको सुरक्षा संवेदनशीलता फरक छ ।

म शुरुमा यहाँ आउँदा यो यस्तो संवेदनशील ठाउँ थियो, यहाँ विदेशी पाहुनाहरू आउँदा समेत  लुटिन्छन् भन्ने  गरिन्थ्यो । म यता आउँदाखेरि पहिलोपल्ट एकजना मिडियाकर्मीबाट रात्रीकालीन व्यवसाय अर्थात डान्सबारहरूमा विशेषगरी विदेशी पर्यटकहरू बढी लुटिन्छन् भन्ने कुराको खबर पाएको थिएँ । नेपाली पनि लुटिने, अनि विदेशीहरू आएर लुटिदाँ हाम्रो देशको इज्जत, मान सम्मान, प्रतिष्ठा के हुन्छ ? मेरो मनमा यस्तो प्रश्न उठिराख्थ्यो  ।

हुँदो के रहेछ भने सधैंजसो राती तीन चार वटा डान्सबारहरूले विदेशी पर्यटकहरूलाई अपहरण गरी ल्याएर जबरजस्ती पिउन लगाउने, घेरा हाली मिलेर रेडबुलको पाँच हजार र बियरको सात हजारसम्म लिएर ठग्ने गर्दा रहेछन् । त्यसपछि बिलिङ गर्ने र बिलिङपछि पनि ग्राहकसँग अझै पैसा बाँकी रहेको थाहा पाएमा भित्र गोप्य कोठामा लगी  कुटपिट गरेर भएपनि भएजतिको पैसा, मोबाइल आदि लुट्ने गरेको सूचना पाउँदा मा साह्रै दुःखी भएँ ।

मैले भोलिपल्टदेखि नै त्यहाँ अपरेशन सुरु गरें । त्यस अवधिमा दिनमा तीन–चार जनासम्म समातेर ल्याइन्थ्यो । तिनीहरूलाई कारवाहीको दायरामा ल्याएपछि यस्ता घटना केही नियन्त्रणमा आउन थाले । अहिले पछिल्लो समयसम्म आइपुग्दा साउन महिनाको तुलनामा यस्ता आपराधिक गतिविधिहरूमा निकै कमी आएको देखिएको छ ।

अहिले देवानी संहिता ऐन आएपछि फेरी केहीले त्यस्तो कोशिस गर्न खोजेको थाहा पाएपछि उसलाई मुद्दा चलाएर छोडेको छौं ।

दरबारमार्ग क्षेत्रमा शान्ति खल्बलाउने काम कसैले गर्छ भने त्यसलाई हामीलाई छोड्दैनौं ।

अहिले विदेशीहरूलाई ल्याएर, लोभलालच देखाएर लुट्ने काममा निकै कमी आएको छ । यो एकदमै नराम्रो काम हो, जसले हामी नेपालीको बारेमा गलत सूचना विश्वसामु पुगिरहेको हुन्छ । हामी कहाँ विशेषगरी भारत, बंगलादेश आदि देशका पर्यटकहरूलाई यसरी लुटिएको अवस्था छ  । मेरो त अहिलेसम्म सबैलाई के अनुरोध छ भने कसैलाई लुट्ने काम गर्नु हुँदैन । यसरी लुट्नेलाई हामी कानून बमोजिम कारबाही गर्ने छौं । र, त्यस्ता गतिविधिलाई शून्य अवस्थामा ल्याउने प्रयासमा गर्नेछौं ।

अघि नै यहाँले भन्नुभयो किअपराधको  कतै न कतै कुनै क्षेत्रसँग सम्बन्ध जोडिएको हुन्छ । अर्काेतर्फ यौन व्यवसायको केन्द्रको रूपमा पनि यो क्षेत्रको ठमेललाई लिने गरिन्छ । रात्रीकालीन व्यवसायको आडमा हुने अपराधलाई न्यून गर्नका लागि कस्ता कस्ता पहलहरू शुरु भएका छन् ?

अहिले प्रहरीले अलि राम्रोसँग आफ्नो काम सुरु गर्न थालेपछि नागरिकहरूले समेत यस्ता गतिविधिबारे प्रहरीलाई सूचना दिने गरेका छन् । यसरी प्रहरीप्रति जनतामा विश्वास बढ्नु साह्रै सकारात्मक अवस्था हो । यो बीचमा हामीले कतिपय संगठितरुपमा भइरहेका अपराधिक काम समेत बन्द गर्न सफल भयौं ।

फेरी हामीले अपराधजन्य कुरामा थाहा पाएका सूचनाहरू प्रहरी कहाँ आएर दिने काम गर्यौं भने पनि अपराध नियन्त्रणमा सहज हुने गर्दछ । अब यहाँ पहिलेको जस्तो प्रहरी छैन, अहिलेको नयाँ प्रहरीहरू नयाँ ढंगबाट जनताको इच्छा अनुसार काम गर्न तयार छन् भन्ने कुराको अनुभूति सबैमा होस् र आपराधिक सूचनाहरू हामी कहाँ पुगोस् भन्ने हाम्रो चाहना हो । हामीसूचनादाताहरूको नामलाई गोप्य राख्न प्रतिबद्ध छौं ।

कस्तो संगठित अपराधको चर्चा गर्न खोज्नुभएको हो ?

हामीले केही समय अगाडि सूचना पायौं । ‘लाजिम्पाटमा भीआइपी क्षेत्रकै एउटा चार तले घरको पहिलो तल्लामा दिन दहाडै वेश्यावृत्ति हुने गर्थ्यो । यसमा १३–१४ वर्षदेखिका किशोरीहरूलाई ल्याएर भीआईपी क्षेत्रमा वा अन्यत्र यौनधन्दामा लगाउने गरेका सूचना हामीले पायौं । त्यहाँ शंकास्पद महिला-पुरुष आउने गरेको देखेर केही गडबडीको शंकासाथ हामीले अनुसन्धान अघि बढायौं । म आफैं सिभिल ड्रेसअपमा सामान्य व्यक्ति बनेर त्यहाँ गई सबै वस्तुस्थितिको अध्ययन अनुसन्धान गरें ।

यसक्रममा हामीले त्यहाँ ग्राउण्ड फ्लोरमा यौन व्यवसाय चलिराखेको तथ्य पत्ता लगायौं । यसरी धन्दा चलिरहेको थाहा पाएपछि मैले आफ्नै कमाण्डमा गएर त्यहाँ संलग्न सबै महिला, पुरुष सबैलाई नियन्त्रणमा लियौं र उनीहरूले फालेका प्रमाणहरू समेत ल्यायौं । हामी त्यहाँ पुग्नेबित्तिकै त्यहाँको संचालकले प्रयोग गरेका ती सामानहरू नष्ट गर्ने अर्थात प्रहरीको हात नलागोस् भनी लुकाउन खोजेका थिए । त्यसलाई पनि हामीले खोजी खोजी ल्यायौं । र, अहिले मुद्दा चलाएपछि तीमध्ये दुईजनालाई हामीले पुर्पक्षका लागि राखेका छौं ।

भिआईपी क्षेत्रमा त्यस्तो एक्सन लिँदा भिआईपीहरूबाट दबाब पनि त आयो होला नि छुटाउन ?

त्यो अर्गनाइज्ड क्राइम नै थियो । मैले कार्वाही प्रक्रिया अघि बढाएपछि मलाई ब्युरोक्रसीको उच्चतहका व्यक्तिहरूले फोन गरी दबाब दिनुभयो । यसमा प्रहरीबाट पनि चासो व्यक्त गरियो । तर, त्यो मुद्दामा दबाब स्वीकार्ने अवस्था थिएन । प्रहरीले समाजमा बढिरहेको विकृतिलाई रोक्नलाई चालेको कदम सकारात्मक थियो । हामीले यसमा कुनै सम्झौता नगरिकन सही तरिकाले अनुसन्धान गऱ्यौं ।
योभन्दा अगाडि पनि म आउने बित्तिकै ल्याण्डमार्क होटलमा भएको काण्डमा हामीले मुख्य अभियुक्त समातेर कानूनको दायरामा ल्याएका थियौं । त्यस पछाडिका अरु मुद्दाहरूमा पनि महिला ट तथा किशोरीहरूलाई जम्मा गरेर होटेल होटलमा पुऱ्याउने एउटी संचालिकाको मुद्दा थियो । हामीले त्यो गिरोहका मुख्य मुख्य मानिसहरूलाई हामीले कानूनी दायरामा ल्यायौं । अहिले उनीहरूले आफूले गरेको अपराधको सजाय भोगिरहेका छन् ।

डान्सबारबाटै खाडी मुलुकमा केटी बेच्ने भन्ने पनि सुनिन्छ नि ?

हामीले पनि यो सुनेर यसमा कार्वाही अघि बढाइरहेका छौं । यहीँ डान्सबारहरूमा डान्स गर्ने महिलालाई ललाई फकाई दुबईको कोठीमा बेचेको एउटा घटना हामीकहाँ आएको थियो । दुबईबाट त्यो खबर पाएपछि ती महिलालाई सम्पर्कमा ल्याउन सक्यौं । र, उनलाई दुबईमा पुऱ्याउने गिरोहको मुख्य तीन जना व्यक्तिलाई हामीले कारबाही गरेर कानूनी दायरामा ल्याउन सफल भयौं । त्यसपछि यसरी हुने बेचबिखन अलि मत्थर भएको छ । तर, अझै पनि यहाँ त्यस्ता यौनधन्दाहरू संचालन भइरहेको छ भन्ने कुरा हाम्रो जानकारीमा छ । यी सबै प्रकृतिका अपराधविरुद्ध हाम्रो सूक्ष्म अनुसन्धान जारी छ ।

भनेपछि नेता, कर्मचारीप्रहरीबाटै दबाब आउँछ ?

त्यो स्वभाविकै हो । राजनीतिक रुपबाट नेताहरूले गर्ने दबाबहरू कस्तो हुन्छ भने एकपल्ट भनिहाल्ने, नेताहरूको त्यो बाध्यता पनि होला । तर हामीले ‘यो कुरा यस्तो हो, यसरी गर्नुपर्छ, यसमा यस्तो भएको हो’ भनेर हामीले सही कुरा भनेपछि उहाँहरू कन्भिस हुनुहुन्छ । त्यसपछि उहाँहरूले फर्केर त्यही कुरामा सवाल जवाफ केही हुन्न ।

अहिले दबाब आउँदा हामी के भन्छौं भने हाम्रो काम अनुसन्धान गर्ने हो, कानुनी दायरामा पुऱ्याउने हो, त्यसपछि फैसला गर्ने काम अदालतको हो । फेरी ‘हाम्रो मुद्दा दर्ता गर्ने भन्दा मुद्दा कमजोर बनाइदिनुपऱ्यो’ भन्नेहरू बढी आउने गर्दछन् । तर पीडित पक्षलाई अन्याय गरेर अपराधीहरूलाई सजिलो पार्न त भएन नि ?

यहाँहरूको पछिल्लो योजनाहरू चाहिँ कस्तो छ नि ?

दरबारमार्ग क्षेत्र साँच्चै नै सेन्सेटिभ छ । अबको हाम्रो योजना भनेको त्यही अनुसारको गर्ने अपरेशन संचालन गर्ने हो । दरबारमार्ग केन्द्रीय क्षेत्र हो, यहाँ तैनाथ प्रहरीले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न सकोस् भन्ने मेरो उद्देश्य हो । हामी आफूसँग रहेका स्रोत साधनलाई त्यही अनुरुप बाँडफाँड गरेर शान्ति सुरक्षा स्थापित गर्न लागिपरेका छौं ।

म त के भन्छु भने दरबारमार्ग साँच्चै नै दरबारमार्गको रुपमा देखिन पाउन यहाँ कार्यरत प्रहरी नमूना प्रहरी हुनुपर्छ । मैले यहाँको सुरक्षा व्यवस्थालाई त्यो रूपमा स्थापित गरेर मेरो कार्यकालपछि पनि यसको निरन्तरता रहिरहोस भन्ने चाहेको छु ।

यो क्षेत्र भनेको सोह्रखुट्टेदेखि दरबारमार्गसम्मको पऱ्यो होइन त ? कहिलेकाहीँ तपाई भूमिकामा द्वन्द हुने गर्दैन त ?

त्यस्तो हुँदैन । हाम्रोमा चाहिँ कस्तो हुन्छ भने त्यस्तो खालको केही कुरा आयो भने हामी मित्रवत भावले समूहगत रूपमा काम गर्छौं । पहिले पहिले काम गर्दा तेस्रोलिङ्गीको धेरै समस्याहरू आउने गरेका थिए । हामीले त्यसलाई फरक किसिमले हल गर्न थालेका छौं ।

हामीले तेस्रो लिङ्गीलाई बलपूर्वक नियन्त्रण गर्नु हुँदैन बरु सहकार्य गरी उनीहरूलाई जीउ बेच्ने अवस्थाबाट कसरी अरुतर्फ लैजान सकिन्छ भन्ने ध्यानमा राखेर उनीहरूको संगठनसँग सहकार्य गर्ने गरेका छौं । गाँसबासको समस्या भनेपछि मर्का नपर्ने पेशा खोजिदिन्छौं समेत भन्ने गरेका छौं । हामीले विभिन्न किसिमका काउन्सिलिङ गरेरपछि पनि पेशा छोडन नमान्नेहरूलाई ‘व्यक्तिगरूपमा के गर्ने हो तपाईँको इच्छा हो, तर सामाजिक विकृति फैलाउने गरी काम नगर्नुस्’ भन्ने आग्रह समेत गर्ने गरेका छौं । राम्रो परामर्शले पनि मानिसलाई सही बाटोमा ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास हो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!