नारायण भण्डारी ‘निर्जल’का दुई गजल

नारायण भण्डारी निर्जल

गजल:

परदेशबाट आँखामा देशको भूगोल देखिन्छ,

आफ्नै गल्ली देखिन्छ आफ्नै टोल देखिन्छ ।

 

माया प्रेम पनि किनबेच हुने यो दुनियाँमा,

मात्र आमाको माया मात्र अनमोल  देखिन्छ ।

 

शहरका  अस्पतालमा  त  आइसियु हुन्छ,

गाउँमा त  मुस्किलले  सिटामोल  देखिन्छ ।

 

अरुलाई  हेरेर  पनि चित्त सजिलै बुझाइन्छ,

यो भीडमा सबैको जिन्दगी डामाडोल देखिन्छ ।

 

हामी नेपालीको आँखामा पानी देखिए जस्तै,

लाग्छ यी अरबीका आँखामा पेट्रोल देखिन्छ ।

 

गजल: २

मिल्दै मिल्दैन बिचार तिमीसँग मेरो,

कसरी होला घरबार तिमीसँग मेरो ।

 

तिमिलाई जित्नु पर्छ म हार्न जान्दिनँ,

के होस पनि प्यार यार तिमीसँग मेरो ।

 

जिन्दगी लामो छ करले चल्दै चल्दैन,

हुनैपर्छ वार कि पार तिमीसँग मेरो ।

 

नत छोड्न मिल्ने नत अगाँल्न सकिने,

कस्तो अचम्मको करार तिमीसँग मेरो ।

 

तिमी मेरी हुँदै होइनौ भनौँ भने पनि,

बस सिन्दुर छ आधार तिमीसँग मेरो ।

 

हाल: दोहा, कतार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!