इश्वर राई ‘लजालु’का दुई गजल

गजल: १

यहाँ उर्वशी नाम् कथाले बनायो,

यहाँ रात उजेली  उषाले बनायो ।

 

भएको छ एक्लो  सगरभित्र जून,

मलाई त एक्लो प्रियाले बनायो ।

 

भएको हुँ घायल म उनकै नजरले,

मयुर चाल उनको अदाले बनायो ।

 

पुजेको छ सबले यहाँ हेर ढुङ्गा,

बनायो त मान्छे शिलाले बनायो ।

 

भएको छ सास्ती गरौँ के म आमा,

मुटुभित्र  दरबार खियाले बनायो ।

गजल: २ 

नयाँ रङ्ग लाली बिहानी छ प्यारो,

नयन भित्रको फूल नानी छ प्यारो ।

 

कथा छन् अनेकौँ र पीडा हजारौँ,

सबैलाई आफ्नो जवानी छ प्यारो ।

 

कसैले  गरेनन्   कसैको   भरोसा,

हो आफ्नै यहाँ जिन्दगानी छ प्यारो ।

 

दिएको छु ज्यानै, मुटु यो धरालाई,

चिरी हेर छाती निशानी छ प्यारो ।

 

खुशी जिन्दगीको छ मेरो स्वदेशमै,

छ प्यारीको काखै सिरानी छ प्यारो ।

हाल: दोहा, कतार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!