भरतपुर महानगरको सरसफाइ समापनमा भव्य नाचगान

चितवन । विश्व सरसफाइ दिवस २०१८ को अवसरमा भरतपुर महानगरपालिकाले गरेको सप्ताह व्यापी सरसफाइ कार्यक्रमको शनिबार समापन भएको छ ।

सरसफाइका सामाजिक संघसंस्थाहरु, सामाजिक अभियान्ताहरुको व्यापक उपस्थितिमा विभिन्न ठाउँको सरसफाइ गरी २४ कोठीमा नाचगान सहित सप्ताहव्यापी सरसफाइ कार्यक्रमको समापन गरिएको हो ।

भदौ २४ गतेबाट भरतपुर महानगरले विश्व सरसफाइ दिवसको अवसरमा साताव्यापी सरसफाइका कार्यक्रम घोषणा गरेको थियो ।

भदौ २४ गते नगरभित्रका कार्यालयहरुको सरसफाइ

२५ गते शैक्षिक संस्थाहरुको सरसफाइ

भदौ २६ गते सार्वजनिक संस्था तथा पार्कको सरसफाइ

भदौ २७ गते धार्मिक स्थलको सरसफाइ

भदौ २८ गते नदीनाला तथा जलाशयको सरसफाइ

भदौ २९ गते सडक सरसफाइ

भदौ ३० गते आज राजमार्ग सरसफाइ गरी महानगरले सप्ताहव्यापी कार्यक्रमको समापन गरेको थियो ।

शनिबार आँपटारीदेखि गोन्द्राङसम्मको सरसफाइ गरी चौबिसकोठीमा नाचगान गरी सप्ताहव्यापी सरसफाइ दिवसको कार्यक्रमको समापन गरेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए ।

विश्वका १ सय ५० भन्दा बढी राष्ट्रमा एकैदिन हुन लागेको विश्व सरसफाइ दिवस नेपालमा पनि ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ मनाइएको छ ।

भदौ २४ देखि ३० गतेसम्म देशभर सरसफाइका सव्ताहव्यापी कार्यक्रम भएका छन् । सोही कार्यक्रमलाई भरतपुर महानगरपालिकाले पनि भव्यताका साथ सरसफाइको कार्यक्रम गरेको हो ।

महानगरको सरसफाइ कार्यक्रममा २५ वटा भन्दा बढी सामाजिक संघसंस्थाहरुले सहभागिता जनाएका थिए । सयौंको संख्यामा सामाजिक अभियान्ताहरु सरसफाइमा खटिएका थिए ।

चौबिसकोठीमा भएको समापन कार्यक्रममा सामाजिक अभियान्ताहरु, टोल सुधार समितिका पदाधिकारीहरु, वडाध्यक्षहरु, कर्मचारीहरुलगायतले भजन गाएर सरसफाइमा जुट्न नगरवासीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले साताव्यापी अभियानको बेलामात्र सरसफाइमा निस्केर हुँदैन सधैँभर आफ्नो टोलको सरसफाइमा जुट्नुपर्ने बताएका थिए । उनले भने, ‘एक थुकी सुकी सय थुकी नदी हो, सरसफाइ एक जनाले गरेर मात्र हुँदैन, आफ्नो टोल सफा गर्न टोलवासी नै जुट्नुपर्छ ।’ उनका अनुसार आफ्नो घरको अगाडिको फोहोर आफैँले सफा गरेमा नगर सफा हुन्छ । महानगरलाई हरियाली, सफा, स्वच्छ बनाउने अभियानमा साताभरि सहभागी हुने सामाजिक अभियान्ताहरु, सरसफाइमा जुटेका टोलवासी, स्कुलका विद्यार्र्थी, पत्रकार सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफूले गरेको फोहोर आफैँले व्यवस्थापन गर्न सुझाव दिए । उनले बागमति सरसफाइ अभियान जारी रहेझैँ भरतपुर महानगरको सरसफाइ अभियान जारी राख्नुपर्ने बताए ।

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले भने, ‘मेरो नाकबाट बगेको सिँगान मैले आफैँले फाल्नुपर्छ, फोहोर पनि त्यही हो, जसले गरेको छ, उसैले फाल्नुपर्छ ।’

भरतपुर महानगरले सरसफाइमा एउटा नारा तय गरेको छ । ‘विकास र समृद्धि महानगरवासीको शान, फोहोरमैला व्यवस्थापनमा हाम्रो अभियान’मा सबै साथसाथ रहनु वडाध्यक्ष भण्डारीले सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले एउटा प्लास्टिक टिपेर फेसबुकको वाल भरेर अर्थ नहुने बताए । उनले भने, ‘वाल भर्नमात्र होइन, वास्तविक सफाइ गर्छु भन्ने अभियानले सरसफाइमा जुट्नुपर्छ ।’

कार्यक्रममा चितवन जिल्ला रेडक्रसका प्रमुख ज्ञानशाली न्यौपानेले सरसफाइमा जुट्न रेडक्रसकर्मी सधैँ तयार रहेको र महानगरसँग समन्वय गरी अघि बढ्न जाहेको बताए ।

कार्यक्रममा सरसफाइका अभियन्ता वीरेन्द्रमणि पौडेलले भरतपुर महानगरलाई सफा, हरियालीको सहर बनाउन सामाजिक अभियान्ताहरु हरबखत जुट्ने बताए । कार्यक्रममा सामाजिक अभियान्ताहरु नाचगान गरेर सरसफाइको चेतना दिएका थिए । भरतपुर महानगरपालिकाभित्रका वडा नं. ७, ११ र २१ वातावरणमैत्री घोषणा भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!