अरिङ्गाल बन्नुपर्ने बेला आयो– प्रधानमन्त्री

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीविरुद्ध बोल्ने ‘प्रतिक्रियावादी’विरुद्ध एक हुन कार्यकर्तालाई आग्रह गरेका छन् । विरोधी विरुद्ध अरिङ्गालको शैली अपनाउने वा नअपनाउने भन्दै उनले कार्यकर्तालाई प्रश्न गरेका छन् ।

‘जसरी एउटा अरिङ्गाललाई चलाएपछि सबै खनिन्छन्, थाहा छैन ? तपाईँहरूको त्यति बुद्धि छ कि छैन?’ प्रधानमन्त्री ओलीले भने ‘एउटा मरे पनि मर्छ भन्ने हो कि ?’ उनले प्रतिक्रियावादीको हमलामा जवाफ दिन समेत कार्यकर्तालाई आग्रह गरे ।

विरोधीहरूले ‘के निउँ पाऊँ कनिका बुकाऊँु जस्तोगरी विरोध गर्न विषय खोजेको दाबी उनले गरे । उनले पार्टी एकताको मर्म बुझेर काम गर्न पनि नेता कार्यकर्तालाई सुझाव दिए । उनले भने ‘पार्टी एकता चिन्नेलाई श्रीखण्ड हो, नचिने खुर्पाको बिँड । ओलीले नेपाल कम्युनिष्ट पार्टीको आन्दोलन एकीकृत भइसकेको समेत दाबी गरे ।

तत्कालीन एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीको चौथो स्मृतिमा शनिवार बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली बोगटी लगायतको सपना पूरा गर्न पार्टी र सरकार लागेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्टबाट विश्वभरका श्रमिकले भरोसा राखेको बताए ।

पोष्टबहादुर बोगटीको प्रश‌ंसामा लामो मन्तव्य दिएका उनले जनताले महसुस गर्नेगरी पार्टी र सरकारले काम गर्नुपर्ने बताए । ‘विश्ववका कम्युनिष्टले समेत नेपालप्रति आशा–भरोसा राखेका छन्’, प्रचण्डले भने– ‘दुई पार्टीको एकता अद्भूत अवसर हो ।’ उनले स्वर्गीय नेता बोगटी सरल र विचारप्रति निष्ठावान् भएको बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!