सेवा सुविधा नपाए बैठक नचलाउने कर्मचारीको चेतावनी

काठमाडौं, भदौ ३० । संघीय संसद् सचिवालयका कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

 

यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको हो । २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुका गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।

 

त्यसबापत उनीहरुले बिहानको साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए । शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपियाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ पछि यो सुविधा कटौती गरिएको छ ।

 

कर्मचारीले त्यसपछि १ सय २० प्रतिशत थप सुविधा मागेका थिए भने सचिवालयले ८० प्रतिशत सुबिधा थप गरिदिएको थियो । असार अन्तिमसम्म तलब बाहेक थप ८० प्रतिशत सुविधा पाइरहेका कर्मचारीलाई काम लगाएर पनि अहिले सुविधा नदिएपछि उनीहरु आक्रोशित भएका छन् ।

 

उनीहरुले अत्यावश्यक सेवा र जुनसुकै बेलामा पनि काम गर्नुपर्ने भएकाले अन्य कार्यालयको जस्तै सेवा सुविधा बढाउनु पर्ने भन्दै आवाज उठाउदै आएका छन् ।

 

संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र महतले कार्यालय समयमा मात्र काम गर्नुपरे कुनै सुविधा नमागिने तर अतिरिक्त समयमा काल लगाउने हो भने तलबमा मात्रै काम गर्न नसकिने बताए ।

 

महतले धेरैजसो कर्मचारी टाढा बस्ने भएकाले बिहान बेलुका समितिका बैठक चलाउँदा पैसा नभए भोकै बस्नुपर्ने वाध्यता रहेको बताए । महतले आफ्नो व्यक्तिगत जीवन नभनी दिनरात सचिवालयकै काम गरे पनि मूल्यांकन नभएकोमा आपत्ति जनाए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!