अब ढुक्क हुनुस्, विकासले नयाँ गति लिन्छ– अध्यक्ष प्रचण्ड

काठमाडौं, भदौ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।

 

कारोबार दैनिकले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताए ।

 

जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उनको भनाई छ ।

 

अध्यक्ष प्रचण्डले भने,‘राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ शुरुआत गर्न सकेनौँ भने यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ ।’

 

उनले विगतमा पञ्चायत, राजाको निरकुशता र दलहरुको कार्यशैलीलाई आरोपित गरेर जनताबाट क्षमा पाउने गरेको भए पनि अहिले हामीलाई त्यस्तो कुनै पनि आधार नभएकाले केही न केही गर्नैपर्ने बाध्यता रहेको बताए ।

 

विकास र समृद्धिको अभियान शुरु गर्ने निक्कै ठूलो अवसर आएको भन्दै प्रचण्डले यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न आफूहरु क्रियाशील रहेको बताए ।

 

सरकार र नेकपाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएको भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्न पनि सबैको साझा प्रयत्न जरुरी रहेको स्पष्ट पारे ।

 

छिटोभन्दा छिटो आर्थिक विकासका लागि चीन र भारतजस्ता ठूला देशले घेरिएको भूराजनीतिक अवस्थिति विकासका लागि वरदान सावित हुनुपर्नेमा जोड दिँदै उनले अब दृढ इच्छा शक्ति मात्रै जरुरी रहेको बताए । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!