दीपिका र रणवीरको विवाह तोकियो, पाहुनाहरूलाई मोबाइल बोक्न निषेध

बलिउड सुन्दरीहरू एकएक गरेर लगनगाँठो कस्दै छन् । र घरबार बसाल्नेप्रति उनीहरू कतिसम्म गम्भीर देखिन थालेका छन् भने पछिल्लो समय पूर्व विश्वसुन्दरी समेत रहिसकेकी प्रियंका चोपडाले आफ्ना प्रेमी निकसँग समय बिताउन ‘भारत’ जस्तो बहुप्रतीक्षित फिल्म नै छोडिदिइन् ।

त्यस्तै भारतीय क्रिकेट कप्तान विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी अनुष्का शर्मा पनि आफ्नो वैवाहिक जीवनबारे अत्यन्त गम्भीर देखिछिन् । बलिउड सुन्दरी हरूमा निकै चर्चित र पछिल्लो समय निकै सफल समेत रहेकी दीपिका पादुकोणको विवाहको मिति पनि सार्वजनिक भइसकेको छ ।

बलिउड हंगामाले प्रकाशित गरेको एउटा समाचार अनुसार उनले चाडैं अभिनेता रणवीरसिँहसँग विवाह गर्ने भएकी छिन् । रणवीर र दीपिका लामो समय देखि एक अर्कालाई डेट गर्दै थिए ।

बलिउड हङ्गामाका अनुसार रणवीर र दीपिका १२ नोभेम्बरमा विवाह गर्दैछन् । उनीहरूको विवाह इटलीको लेक कोमो सहरमा हुने भएको छ ।

प्रकाशित समाचार अनुसार यस विवाह समारोहमा केही ‘विशेष’ व्यक्तिहरूलाई मात्र निम्ता दिइएको छ । साथै उक्त विवाह समारोहमा अतिथिहरूलाई मोबाइल बोक्न समेत प्रतिबन्ध लगाइएको छ । अर्थात यस समारोहका तस्बिरहरू सहज रूपमा सामाजिक संजालमा आउन पाउने छैनन् ।

यी दुवै बलिउड हस्तीहरू विगत पाँच वर्षदेखि सँगै छन् र उनीहरूले एक-अर्कालाई आफ्नानिम्ति शुभ मान्ने गर्दछन् । यस वर्षको सुरुमै यी दुबैको मुख्य भूमिका रहेको फिल्म पद्मावत रिलिज भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!