युनिलिभरले लाभांशको आकार झण्डै आधा घटायो

नेपालको पूँजी बजारमा सर्वाधिक महङ्गो शेयर मूल्य रहेको युनिलिभर नेपालले आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक कम्पनीले नगद लाभांशमा भारी कटौती गर्दै प्रतिकित्ता ७ सय रुपैयाँ लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा २५ औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । त्यसबेला कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३० हजार १०० रुपैयाँ हाराहारी थियो ।

गत आर्थिक वर्षको कमाईबाट युनिलिभरले प्रतिकित्ता ७ सय रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । अहिले युनिलिभरको प्रतिकित्ता सेयरमूल्य २४ हजार ६६३ रुपैयाँ छ । उल्लेखित सेयरमूल्यका आधारमा अहिले कसैले युनिलिभरको १०० कित्ता सेयर किन्दा साढे २४ लाख रुपैयाँभन्दा बढी रकम लगानी गर्नुपर्ने हुन्छ ।

उक्त लगानीबाट पाउने लाभांश प्रतिफल ७० हजार रुपैयाँ मात्र हुन आउँछ । लगानीका आधारमा प्रतिफलको प्रतिशत भने २ दशमलव ८३ प्रतिशत मात्र हुन आउँछ ।

९ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको युनिलिभरले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैंया खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ९६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको युनिलिभरले कमाई बढ्दा लाभांसको आकार भने घटाएको हो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब १६ करोड ९६ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको युनिलिभरले गत आर्थिक वर्षमा ६४ करोड ४७ लाख रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले आगामी कात्तिक ६ गते मंगलबार साधारण सभा बोलाएको छ । उक्त साधारण सभाबाट पारित भए पछि मात्र लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् । मेरोलगानीबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!