अमेरिकामा फेरि चल्यो गोली, गयो छ जनाको ज्यान

काठमाडौँ, भदौ २८ । अमेरिकाको क्यालिफोर्निया राज्यमा बुधबार भएको गोलीकाण्डमा छ  जनाको ज्यान गएको छ ।

प्राप्त जानकारी अनुसार एक जना बन्दुकधारीले जथाभावी गोली चलाएर आफ्नी पत्नी समेत पाँच जनाको हत्या गरेर आत्महत्या गरेका थिए ।

स्थानीय प्रहरीका अनुसार क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको उक्त गोलीकाण्ड घरेलु हिँसा रहेको छ । बेकर्स काउन्टीका प्रहरी अधिकृतका अनुसार ती व्यक्तिले अपरान्ह ५.१५ बजे अन्धाधुन्द गोली चलाएर पांच जनाको ज्यान लिएको समाचार प्राप्त भएको थियो ।

हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका थिए । गोली लागेर तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । प्रहरीले पीडितहरुको नाम सार्वजनिक गरेको छैन ।

बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब चार प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा छ ।

स्मल आम्र्स सर्भेका अनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!