भरतपुरमा बन्ने नै भयो अत्याधुनिक सिटीहल, महानगर प्रमुख रेणु दाहालको पहलले पायो सार्थकता

चितवन । भरतपुर महानगरपालिकाले गौरवको आयोजनाको रुपमा लिएको भरतपुर महानगरीय सिटी हल निर्माण गर्ने भएको छ ।

जिल्ला समन्वय समिति मातहत रहेको गेष्ट हाउस चौरमा ४ बिघा ११ कठ्ठा क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको सिटीहल निर्माण गर्ने भएको छ । बुधबार भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णराज डल्लाकोटी, जिल्लास्थित राजनैतिक दलका प्रमुख सहभागी बैठकले गेष्ट हाउस चउरमा रहेको जमिनमै सिटीहल निर्माण गर्ने सहमति गरेको हो ।

सिटीहल निर्माणका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट विनियोजन गरिसकेको र त्यसलाई सम्पन्न गर्न आवश्यक थप बजेट उपलब्ध गराउने सहमति भएको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले एभरेष्टदैनिकलाई बताइन् । महानगर प्रमुख दाहालले भनिन्, “सिटीहल कहाँ बनाउने भन्ने समस्या थियो । महानगरले थुप्रै ठाउँहरुमा जग्गाको खोजी गरेको थियो । जिल्ला समन्वय समितिले महानगरको आग्रहलाई स्वीकारेर जग्गा उपलब्ध गरायो अब सिटीहल बन्छ ।” जग्गाको स्थिति अनुसार यसको डिजाइन इष्टिमेट र आवश्यक प्राविधिक काम छिट्टै सुरु हुने दाहालले बताए ।

कस्तो बन्छ सिटीहल ?

भरतपुर महानगरपालकाले निर्माण गर्न लागेको महानगरीय सिटीहल अन्तर्राष्ट्रिय स्तरको हुने भएको छ । जसमा ५ हजार सिट क्षमताको मुख्य सभाहल र ५ सय क्षमताको ३ वटा हल र अन्य साइटलाइन मिटीङ्गहलहरु हुने छन् । सभाहलमा अत्याधुनिक लाइट सिस्टम, साउन्ड सिस्टम, पर्याप्त पार्किङ्ग, मनोरम बँगैचा, फुटकोडका साथै सुरक्षा कक्षासमेत हुने छ । भरतपुर महानगरपालिकाले पत्र दिनासाथ सोको डिजाइनको काम थाल्ने शहरी डिभिजन तथा भवन कार्यालय चितवनका डिभिजन प्रमुख कुमार घिमिरेले बताए । विभागबाट ५० करोड निकासा भइसकेको छ । थप रकम आउँदै जानेछ ।

भरतपुरको ठुलो पूर्वाधार

देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका पछिल्लो समय विकास निर्माण र सहरीकरणको दृष्टिकोणले तीव्रगतिमा आगाडि बढिरहेको छ । पर्यटनको तेस्रो गन्तव्यको रुपमा रहेको चितवनमा पछिल्ला दिनहरुमा ठूला पर्यटकीय होटलहरुका निर्माण र संचालन पनि गुणत्मकरुपमा भइरहेका छन् । सिटीहलको निर्माणसँगै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सभा–समारोहहरु पनि चितवनमै केन्द्रित हुने निश्चित छ ।

दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, सफा र स्वच्छ नारायणी र राप्ती नदी, हिन्दूहरूको आस्थाको केन्द्र देवघाट धाम, राजधानीबाट नजिक हुनु र अन्तर्राष्ट्रिय स्तरको सिटीहल निर्माणले चितवन र भरतपुरको विकासमा महत्वूर्ण भूमिका खेल्ने चितवनवासीको विश्वास रहेको छ । त्यसो त भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको लागी विभिन्न सरोकारवाला निकायहरूसंग छलफल अन्तिम चरणमा पुऱ्याएको छ । त्यस्तै, महानगरीय रिङ्गरोड र लिङ्करोडको काम पनि सुरु गरिसकेको छ ।

काँग्रेसको अवरोधले भएको थियो ढिला

भरतपुर महानगरपालिकाले सिटीहल निमाणका लागि नगर कार्यपालिकाको १४ औँ बैठकबाट सर्वसम्मतले पारित गरी भरतपुर वडा नम्वर ६ र ५ मा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा रहेको ७६ बिघा जग्गामध्ये ५ बिघा जमिनमा सिटीहल बनाउने निर्णय गर्यो ।

सो निर्णयपूर्व नै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समितिको बैठकले पनि भरपुर महानगरपालिकाको सिटीहल निर्माणका लागि ५ बिघा जमिन उपलब्ध गराउने निर्णय गरेको थियो । सोही बमोजिम आश्यक सम्पूर्ण प्रक्रिया स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रीपरिषद बैठकमा जाने तयारीमा थियो । तर अचानक नेपाली काँग्रेसले त्यसमा भाँजो हाल्यो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जमिनमा अन्य पूर्वाधार बनाउनै पाइँदैन र हुँदैन भन्ने काँग्रेसले जिल्लादेखि केन्द्रसम्मको अडानले उक्त निर्णय हुनसकेको थिएन । काँग्रेसले संसदमा समेत बिषय उठाएर दबाव सृजना गरेको थियो ।

क्यान्सर अस्पतालले ७६ बिघामध्ये करीव १० बिघा क्षेत्रफलमा पूर्वाधार निर्माण गरेको छ भने बाँकी जमिनमा अहिले पनि झाडी, बोटबिरुवा मात्र रहेका छन् ।

चितवनवासीले गौरवको आयोजनाको रूपमा लिएको महानगरीय सिटीहल निर्माणकोलागि सबैभन्दा उपयुक्त रहेको स्थानमा काग्रेसको अवरोधले निर्माण कार्य रोकिनु दुखद भएकोमा नेपाली काग्रेसका स्थानीय कार्यकर्ता र चितवनवासी समेत रुष्ट रहेका छन् । तर अन्ततः नयाँ ठाउँमा भएपनि महानगरले अत्याधुनिक सुबिधा सम्पन्न सिटीहल सिटी निर्माण गर्ने भएकोमा चितवनवासीमा खुसी छाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!