मोटरसाइलकल चोरेर १० हजारमा बिक्री गर्ने ६ जना पक्राउ

टीकापुर, भदौ २७ । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार टीकापुर क्षेत्रबाट चोरी भएका ६ वटा मोटरसाइकलसहित चोरीमा संलग्न दुईजना र चोरीका मोटरसाइकल किन्ने थप चारसहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

 

बर्दगोरिया गाउँपालिका-४ बाट मङ्गलबार उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलनमार्फत बरामद मोटसाइकल चोरी गर्ने र मोटरसाइकल किन्ने गिरोहलाई सार्वजनिक गरिएको थियो ।

 

पत्रकार सम्मेलनमा प्रनाउ सिंहले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा भजनी नगरपालिका-८ खैलाड्का १९ वर्षीय सागर चौधरी, बर्दगोरिया गाउँपालिका-४ नौनियाँका १८ वर्षीय रोहित चौधरी, चोरीका मोटरसाइकल खरिदमा संलग्न भएको आरोपमा नौनियाँकै २१ वर्षीय रमेश चौधरी, २३ वर्षीय साहिल चौधरी, २५ वर्षीय सरोज चौधरी र २८ वर्षीय ताराराज थारूलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए ।

 

टीकापुर क्षेत्रबाट मोटरसाइकल चोरेर सागर र रोहितले गाउँ र कमैया शिविरमा रु १० देखि १५ हजारमा मोटरसाइकल बेच्ने गरेको प्रहरीले जनाएको छ ।

 

सागर टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टीकापुरमा कक्षा ११ र रोहित टीकापुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

 

प्रहरीले उनीहरूबाट जोशीपुर गाउँपालिका-४ का जयराज चौधरीको से४प ४४६१, जानकी गाउँपालिका-८ का धनसिंह चौधरीको से६प १९०४, इलाका प्रशासन कार्यालय टीकापुरका नायब सुब्बा भानुभक्त जोशीको से१प ५ ४८९०, विष्ट आयल स्टोर टीकापुरमा कार्यरत चन्द्रबहादुर चौधरीको से५प ३९७३ र टीकापुर नगरपालिका-१ ब्लक नं ३० का योगेन्द्र बमको से५प १८२४ र अर्को नम्बर नखुलेको मोटसाइकलसमेत बरामद गरेको छ ।

 

उनीहरूलाई बुधबार मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत कैलालीमा लगिएको जनाइएको छ । टीकापुर प्रहरीले विभिन्न स्थानबाट १४ मोटरसाइकल चोरी भएका मध्ये ११ मोटरसाइकल बरामद गरेको छ भने थप तीन मोटरसाइकलका विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!