पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन

सुर्खेत, भदौ २७ । विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका-५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गरेका छन् ।

 

पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ जोखिम मोलेर भएपनि कतार जानुभएका उनले यस पटक भने विदेशको बाटो रोज्नु भएन । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सञ्चालन गरे । बराहताल गाउँपालिकामा सञ्चालीत उनको अन्नपूर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा छन् ।

 

लामिछानेले कृषि विकास बैंकबाट छ लाख र छ लाख रुपैयाँ आफैँले सरसापट गरेर कुखुरापालन व्यवसाय गरि रहेका छन् । आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लैजाने तथा अब नेपालमै बसेर स्वावलम्बी बन्ने लामिछानेले बताए । सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर सस्तो ब्याजदरमा ऋण दिएर विदेशिने युवालाई काम दिनुपर्ने लामिछानेको भनाइ छ ।

 

समुदायको आवश्यकता र मागका आधारमा योजनाको छनोट हुने भए गाउँमा स्वरोजगारको वृद्धि हुने नागरिक अगुवा खिम रेग्मीले बताए । कुनै पनि बैंक, सहकारी तथा अन्य संस्थाबाट लिएको रकमको सही सदुपयोग गरे युवा विदेशिनु नपर्ने र स्वदेशमै बसेर पनि सुन फलाउन सकिने रेग्मीको धारणा छ ।

 

कर्णालीको गरीबी हटाउन प्रदेश सरकार, स्थानीय सरकारले पहिलो चरणमा आय आर्जन व्यवसाय र क्षमता विकासमा लगानी गर्नुपर्ने रेग्मीको सुझाव छ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!