पार्टी एकताका बाँकी टुंगो लगाउन नेकपाको सचिवालय बैठक भोलि, यस्तो छ तयारी

काठमाडौं, भदौ २६ । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सोमबार छलफल भएको थियो ।

तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बैठक बस्न लगेको हो । प्रवक्ता श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने थालेको बताउनुभयो । ‘‘बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा छलफल हुन्छ,’’ उनले भने, ‘‘ती प्रतिवेदन हेरी एकताका लागि निर्णयसमेत गर्दै जानेछौँ ।’’

जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताएका थिए । एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको छ । ती तहको पार्टी एकताका लागि चार सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले भदौ ५ गतेभित्र एकताका लागि प्रतिवेदन पेश गर्ने भने पनि नाम र नेतृत्वमा सहमति हुन नसक्दा प्रतिवेदन पेश गर्न सकेनन् । पुनः सचिवालय बैठकले भदौ ७ गतेसम्म जेजस्तो अवस्थामा त्यही अवस्थामा प्रतिवेदन बुझाउन भनिए पनि कुनै कमिटीले पनि प्रतिवेदन बुझाएका थिएनन् । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनियरङको मात्र एकता भएको छ ।

जनसांस्कृतिक महासङ्घ नेपाल, भूमिहीन र वकिलको सङ्गठनको एकता गर्न बनेको कार्यदलले मात्र प्रतिवेदन पेश गरेको छ । विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राख्ने सहमति भए पनि नेतृत्व टुङ्गिएको छैन । युवा सङ्गठनमा नाम र नेतृत्वमा सहमति हुन सकेको छैन ।

अहिलेसम्म प्रदेश नं १ र २ कमिटीबाहेक सबै प्रदेश कमिटीले प्रतिवेदन पेश गरेका छन् । प्रदेश एकता कमिटीले प्रदेश, जिल्ला र सल्लाहाकार कमिटीको नामवाली बुझाएको छ । फाइल फाेटाे

कमेन्ट गर्नुहोस्

error: Content is protected !!