चार प्रहरी र ८७ आतंककारी मारिए

काबुल, भदौ २६ । अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतङ्ककारीविरुद्ध सोमबार मध्यरातमा गरेको कारबाहीमा ५७ आतङ्ककारी मारिनुको साथै १६ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकले बताएका छन् ।

कन्दाहारको प्रान्तीय राजधानी कन्दाहारबाट पश्चिमतर्फको एक जिल्लालाई कब्जामा लिने कोसिसमा तालिबानी आतंककारीहरु रहेका थिए ।

त्यसैगरी अफगान सुरक्षाफौज र अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धनले अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाहलान इ मार्काजी जिल्लामा तालिबान आतङ्ककारी विरुद्ध चलाएको हवाइ कारबाहीमा ३० जना आतङ्ककारी मारिनुको साथै अन्य १६ जना घाइते भएका सेनाका प्रवक्ता हनिफ रेजाइले बताएका छन् ।

शुक्रबार राति सोहीे जिल्लामा भएको आतंककारी आक्रमणमा २० जना सैनिकको मृत्यु भएपछि प्रतिशोधको रुपमा यो कारबाही भएको बताइएको छ ।

अफगानिस्तानमा आगामी अक्टोबर २० मा संसदीय र जिल्ला परिषदको निर्वाचनको तयारी भइरहेको अवस्थामा अफगान सुरक्षाफौजले संयुक्त गठबन्धन सेनाको सहयोगमा आतंककारी विरुद्ध भीषण जमिन र हवाई कारबाही शुरु गरेको छ ।

तालिबान आतंककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!