संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गर्ने होः खानेपानी मन्त्री बिना मगर

काठमाडौं । खानेपानी मन्त्रालयले आधारभुत खानेपानीको पहुँच पुर्याउन तय गरिएका योजनाहरु कार्यान्वयन गर्न सक्रियता बढाउने बताएको छ ।

खानेपानी मन्त्रालयले मंगलबार ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरुसँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै खानेपानी मन्त्री बिना मगरले संघ र प्रदेश सरकारबीच कुनै किसिमको अन्यौलता नहुने गरी खानेपानीका आयोजनाहरु अघि बढाईने बताए । उनले सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने जिम्मेवारी सरकारको काँधमा रहेकाले त्यस्तो लक्ष्य हासिल गर्न खानेपानीको क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौति रहेको बताए ।

उनले भने, ‘३ वर्षभित्र देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्याउन निकै चुनौति छ । तीनै वटै तहका सरकारले विशुद्ध सेवाको रुपमा खानेपानी आपूर्तिलाई लिनुपर्दछ । खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धी कतिपय ऐन नियमहरु निर्माणको चरणमा छौं । संघ र प्रदेश सरकार मिलेरै यस्ता आयोजनाहरु सञ्चालन गर्नुपर्दछ ।’

खानेपानी मन्त्री बिना मगरले अब छिट्टै नै ७ वटै प्रदेशमा कर्मचारीहरुको व्यवस्थापन गरेर आयोजनाहरुलाई द्रुत गतिले अघि बढाईने बताए । खानेपानीका केही महत्वपूर्ण योजनाहरुको सम्भावना खोजी गर्न समेत प्रदेश सरकारलाई उहाँले आग्रह गरे ।

कार्यक्रममा ७ वटै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुले छिटोभन्दा छिटो आयोजनाहरु कार्यान्वयन गर्न केन्द्रबाट कर्मचारीहरु पठाउन आग्रह गरे । कर्मचारीहरु नभएका कारण काम गर्न गाह्रो परेको उनीहरुको भनाई थियो ।

खानेपानी मन्त्रालयले करिब ४ हजार योजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!