प्रधानन्यायाधीश मिश्रलाई जोशीले नै गरे स्वागत !

काठमाडौं, भदौ २६ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । सोमबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै उनी प्रधानन्यायाधीश नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएपछि सोमबारै साँझ पौने ७ बजे उनले पदबहाली गरेका छन् ।

 

शीतलनिवासमा शपथ खाएपछि पदबहाली गर्न सर्वोच्च पुग्दा मिश्रलाई स्वागत गर्नेको पहिलो पंक्तिमा दीपकराज जोशी थिए । जोशी उनै न्यायाधीश हुन् जसलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरिदिएको थियो । जोशीलाई अस्वीकार गरेपछि नै मिश्र प्रधानन्यायाधीश बन्ने बाटो खुलेको थियो ।

 

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न बसेका जोशी गम्भीर मुद्रामा देखिन्थे । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी २० साउनपछि सोमबार नै पहिलोपटक सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।

 

न्यायाधीश जोशीले मिश्रको गलामा माला लगाइदिए । हात फैलाएर अंकमाल गर्दै भने, ‘श्रीमान् बधाई छ ।’ जोशी मिश्रको कार्यकक्षसम्मै पनि पुगे । पत्रकार सम्मेलनभर मिश्रको देब्रेपट्टि बसिरहे । आधा घन्टाको पत्रकार सम्मेलनपछि दुईजना छुट्टिए ।

 

मिश्र यसरी भए प्रधानन्यायाधीश, चार महिना कार्यकाल
१८ साउनमा संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि दीपकराज जोशीलाई अस्वीकृत गरेपछि ओमप्रकाश मिश्रको भाग्य खुल्यो । संवैधानिक परिषद्ले जोशीसँगै मिश्र र चोलेन्द्रशमशेर राणाको नाम पनि सिफारिस गरेको थियो । जोशी अस्वीकृत भएपछि वरिष्ठताका आधारमा ७ भदौमा मिश्रको नाम प्रस्ताव गर्यो ।

 

उनी सुनुवाइ समितिबाट पनि स्वीकृत भई प्रधानन्यायाधीश नियुक्त भए । ६५ वर्ष उमेर हदका कारण मिश्र १८ पुस ०७५ सम्म अर्थात् चार महिना मात्रै प्रधानन्यायाधीश पदमा रहनेछन् ।उनी सर्वोच्च अदालतको न्यायाधीश हुनुपूर्व पुनरावेदन अदालतका मुख्य न्यायाधीश थिए । मिश्रले कानुन मन्त्रालयका शाखा अधिकृतबाट १० कात्तिक ०३८ बाट सेवा सुरु गरेका थिए । नायँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!