वैदशिक रोजगारीलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली सुरु, सम्पूर्ण जानकारी अब मोबाइलमा

काठमाडौं, भदौ २५ । वैदेशिक रोजगारमा जाने नेपाली ठगीएपछि त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले अनलाइन प्रणाली सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System: FEIMS) को सुरुवात गरेको हो । यस्तै आजै मोबाइल एप पनि सार्वजनिक गरेको छ ।

अब वैदेशिक रोजगारीमा जाने र जान्न चाहानेले अनलाइनमार्फत सो सम्बन्धी सम्पूर्ण जानकारी पाउने छन् । वैदेशिक रोजगारीमा जादा लाग्ने खर्च प्रकिया, पारिश्रमिक र सेवासुविधाका बारेमा मोबाइलबाट जानकारी पाउने मन्त्रालयले जनाएको छ ।

सहज र छरितो ढंगले गुणस्तरीय सेवा प्रदान गर्नका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुवात गरेको मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोबाइल एप्लिकेशन समेत संचालनमा ल्याइएको छ ।

यो प्रणालीमा अध्यागमन विभाग, पासपोर्ट विभाग, कन्सुलर सेवा विभाग, कुटनीतिक नियोगहरु, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बीमा कम्पनी, सीप तथा तालिम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।

सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्ति समक्ष पुर्‍याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको मन्त्रालयका प्रबक्ता प्रकाश दाहालले जानकारी दिए ।

सो प्रणालीले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्‍याउने सेवा प्रवाह छरितो, पारदर्शी हुनुका साथै ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । सूचना प्रणालीलाई असोज १५ गतेदेखि सम्बद्ध निकायबाट पूर्ण रुपमा लागू गरिन मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!