के गर्दैछ भारतको सबैभन्दा ठुलो वामदल ?

रातो झण्डा बोक्ने र ‘लाल सलाम’ भन्दै अभिवादन गर्ने भारतको मार्क्सवादी कम्युनिस्ट पार्टीले अचेल आफूसँग नीलो झण्डा पनि जोडेका छन् । यसका साथै उनको अभिवादन पनि केही फेरिएको छ, ‘जय भीम, लाल सलाम !’

कुरो के भने भारतमा २०१९ मा आम निर्वाचन हुँदैछ । सत्तारूढ भारतीय जनता पार्टी विरुद्ध सबै विपक्षी दलहरूले महागठबन्धन बनाउने चर्चा चलिराखेको छ । त्यस महागठबन्धनको एउटा प्रमुख घटक हो सीताराम येचुरी नेतृत्वको मार्क्सवादी कम्युनिस्ट पार्टी ।

माकपाले यस चुनावका लागि दलित संगठनहरूसँग हात मिलाएको छ । त्यसैले दलित संगठनहरूको अभिवादन ‘जय भीम’ अब ‘लाल सलाम’सँगै सुनिन थालेका छन् ।

कुनै समय पश्चिम बङ्गाल, त्रिपुरा केरल आदि राज्यहरूमा या पार्टीको सरकार हुने गर्दथ्यो तर २०१४ यता आएको मोदी नाम गरेको आँधीले सबै उडाएर लग्यो । अब केरलामा मात्र यस पार्टीको सरकार रहेको छ ।

भारतमा ‘मोदी लहर’ले विपक्षी दल्हरूलाई मात्र कुनामा पुरयाएन बरु मोदीका तगारा ठानिएका भाजपाकै कतिपय दिग्गज नेताहरूको भूमिकालाई पनि संकुचित पारिदियो । चाहे लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी जस्ता संस्थापक नेता हुन् या यशवन्त सिँह, शत्रुघ्न सिन्हा र वरुण गान्धी जस्ता प्रभावशाली नेताहरू ।

२०१९ को लोकसभा निर्वाचनपूर्व पाँच राज्यहरूमा प्रदेश सभा या विधानसभाको निर्वाचन हुँदै छ र यसका लागि सीताराम येचुरी नेतृत्वको माकपा पनि तम्तयार छ ।

सीताराम येचुरीको दलको यसपालीको नारा रहेको छ ‘देशलाई नेता हैन नीति चाहिन्छ।’ र यसका लागि उनको पार्टी गरीब, अल्पसंख्यक, दलितहरूलाई साथ लिएर चुनावी मैदानमा उत्रिने भएको छ ।

बीबीसीसँगको अन्तवार्तामा येचुरी भन्छन्, “आज देशमा गरीब, अल्पसंख्यक, दलित सुरक्षित छैनन् । यसकालागि वैकल्पिक बाटो र वैकल्पिक नीतिहरूको आवश्यकता छ ।”

उनी भन्छन्, “यसकालागि साम्प्रदायिक शक्तिहरू विरुद्ध खस्ने भोटहरू बाँडिनु हुँदैन ।”

तर वामपन्थीहरूको गढ मानिएको पश्चिम बङ्गाल र माणिक सरकार जस्तो सादगीपूर्ण जीवनशैली भएको मुख्यमन्त्री रहेको त्रिपुरामा समेत चुनावी नतिजा गुमाएको यस पार्टीको ऐतिहासिक हारबाट उम्किने उपाय के हो त ?

येचुरी भन्दछन्, “वामदलहरूकै आव्हानमा हाल पनि ठुल्ठुला किसान आन्दोलन भएका छन् । तर त्यो जनसमर्थन चुनावहरूमा भोटमा भने रुपान्तरण हुन सकेको छैन ।” यसका बारेमा पार्टीभित्र पनि चर्चा हुने गरेको बताउँदै येचुरी भन्छन्, “भारतमा वर्ग संघर्ष दुई खुट्टामा टेक्छ: आर्थिक शोषण र सामाजिक शोषण । तर त्रुटी कहाँ नेर हुन्छ भने हामी एक खुट्टा; आर्थिक शोषणमा मात्र टेकेर दौडिन खोज्छौं ।”

उनी विश्वस्त छन् सामाजिक शोषण विरुद्धको संघर्षलाई आर्थिक शोषण विरुद्धको संघर्षसँग नजोडेसम्म समस्याको समाधान हुँदैन ।

येचुरी भारतमा कम्युनिस्टहरूले पाम्परिक कार्यशैलीमा फेरबदल ल्याउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, “पहिले पहिले कुनै फ्याक्ट्रीबाट धुवाँ आउँदैछ भने हामी नभन्ने गर्दथ्यौं ‘त्यहाँ रातो झण्डा लहराउनु पर्छ ।’ तर अब हामी भन्छौं ‘यो त हुने पर्छ साथै कुनै गाउँमा दलितहरूलाई कुनै इनारबाट पानी भर्न वन्चित गरिएको छ भने त्यहाँ पनि रातो झण्डा लहराइनु पर्दछ’ तब मात्र जनतामा आत्मविश्वास आउने छ ।”

येचुरीलाई लाग्छ मानिसहरू प्रदर्शनहरूमा भाग त लिन्छन् तर जब निर्वाचन आउँछ उनीहरू आआफ्नो बुझाइ अनुसार बाँडिन्छन् ।

माकपाको नेतृत्व पंक्तिमा दलित उपस्थिति ज्यादै नै न्यून छ । येचुरी यसलाई स्वीकार्दछन् र यसलाई दुरुस्त पार्नुपर्ने विचार समेत राख्दछन् ।

भारतमा दलितहरूलाई राजनैतिक रूपमा संगठित गर्ने काम सर्वप्रथम काशीरामले गरे । उनले बहुजन समाज पार्टीको स्थापना गर्दै उत्तर प्रदेशको सत्ता सम्हाले ।

तर माकपा जस्ता वामदलहरूले सामाजिक वर्गहरूलाई नजर अन्दाज गरिरहे किनभने शास्त्रीय मार्क्सवादमा दुई मात्र वर्ग राहेका छन् र तिनको निर्धारण गर्ने मनक आर्थिक शोषण हो ।

तर येचुरीलाई लाग्छ अब परिभाषाहरूमा पुनर्विचार गर्नुपर्ने समय आएको छ । उनी वृहद वाम-दलित गठबन्धनको पक्षमा उभिएका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!