प्रशासकले जनताको शासक होइन सेवकको रुपमा काम गर्नुपर्छ–गृहमन्त्री

काठमाडौं, भदौ २५ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकका रुपमा काम गर्नु पर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिने सेवाकालीन तालिमलाई संवोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने बताए ।

विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको उनले बताए । उनले भने, ‘केही प्रशासकहरु भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको छ । यसलाई तपाईहरुले चिर्नुहोस् । ’

अहिलेको नियम कानुन प्रशासकहरुले बुझ्नका लागिसमेत यो तालिम उपयोगी हुने गृहमन्त्रीको भनाई छ । उनले भने,‘ हामीले अपराधलाई नियन्त्रण गर्न सक्यौ, अपारधीलाई दण्डित गरेर नागरिकको रक्षा गर्न सक्यो भने मात्रै सफल हुन्छौं । यसका लागि विधिसम्मत ढंगले कार्य गर्न जरुरी हुन्छ । ’

कार्यक्रममा कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकहरुले अर्ध न्यायिक निकायको रुपमा समेत काम गर्नुपर्ने भएकोले तालिम पश्चात काममा सहजता पदान हुने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!