१० किलो सुन पक्राउ गर्ने प्रहरी पुरस्कृत

गोरखा, भदौ २५ । शनिबार १० किलो सुन पक्राउ गर्न सफल भएका गोरखाको चुमनुव्री गाउँपालिका ३ फिलिमस्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।

शनिबार सिर्दिवासबाट अवैध १० किलो सुनसहित छेकम्पारका दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे छन् । छेकम्पारबाट आरुघाट ल्याउँदै गरेको अवैध सुन सिर्दिवास चेकपोष्ट अगाडि चेकजाँचका क्रममा बरामद भएको थियो ।

बरामद भएको सुन तिब्बतबाट ल्याइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उत्तरी गोरखा सिर्दिवासको स्यात्ला नाकाबाट सुन ल्याएको पत्रकार सम्मेलनमा गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए ।

प्रहरीकाअनुसार चीनको तिव्वतस्थित जोङ्ग भन्ने स्थानमा च्याङचिन भन्ने चिनियाँ नागरिकले सुन काठमाडौं पुर्‍याउन भनेका थिए । ‘त्यही नजिकै चिया पसल गरेर बस्ने तिव्वतका पासाङले समन्वय गरेर लामा र तेन्वेलाइ सुन काठमाडौ पुर्‍याइदिन भनेका रहेछन्’ एसपी बस्नेतले भने, ‘उनीहरुको फोन नम्वर राखेर काठमाडौ पुगेपछि तपाइलाई फोन आउँछ, त्यही व्यक्तिलाई सुन दिनु भनेछन् ।’

उनीहरु २१ भदौमा तिब्बतबाट हिँडेका थिए । नेपालको नाकासम्म ट्याक्टर चढेर आएका थिए । सुन काठमाडौं पुर्‍याए वापत नगद ५० हजार पाउने सहमति थियो ।

उत्तरी गोरखाबाट अवैध रुपमा सुनसहित अन्य सामानहरु ओसारपसार हुन्छ भन्ने सूचना पाएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । शनिबार सिर्दिवास चेकपोष्ट हुँदै आवातजावत गर्नेहरुको चेकजाँच भइरहेको थियो । करिव ४ बजेतिर समयमा लामा र तेन्वे लाइनमा नवसी अगाडि बढ्न थालेपछि प्रहरीले रोक्यो ।

चेकजाँचको क्रममा उनीहरुबाट १० किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाले गलवन्दीभित्र सुन राखेर बाहिरबाट सिलाएका थिए र गलबन्दी कम्मर बेल्ट जस्तो बनाएर बाँधेका थिए । उनको साथबाट पाँच थान सुनको बिस्कृट, कानमा लगाउने कुन्दरा दुई थान (सात तोला) र दुई थान टप बरामद भएको छ ।

तेन्वेले भने पछाडि बोकेको झोलामा पाँच थान सुनको बिस्कुट बोकेको भेटिएको एसपी बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!