‘बुलबुल’ को सुटिङ सम्पन्न, प्रदर्शन मितिको घोषणा

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी चर्चा कमाउन सफल नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘बुलबुल’ को छायांकन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिएको छ ।

उक्त चलचित्रको सुटिङ भने २५ दिनमा सकिएको हो ।

निर्देशक विनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर चलचित्रको काम सकाएको बताए ।

‘आउटडोरमा सेट नै लगाएर खिच्नुपर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैं(तिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं,’ भने ।

‘साँघुरो’ का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्ने छ । फिल्ममा स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्।

उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।

फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पो चालक साथीको भूमिका निर्वाह गरेकी छिन् । निर्माता अबिरल थापाले फिल्म भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने जानकारी गराए ।


‘नेपाली मिति अनुसार फागुन ३ गते चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं, ‘थापाले भने, ‘डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोच अनुरुप फागुनको समय राखेका हौं ।’

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् ।

फिल्ममा कोसिस क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ ।

यस चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भीम थापा र राजु पौडेल मिलेर बनाएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!