नेपालीलाई विश्वस्तरको शिक्षा दिन सुविधासम्पन्न पूर्वाधार हुन आवश्यक- उपराष्ट्रपति पुन

काठमाडौं, भदौ २५ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आधुनिक तथा सुविधासम्पन्न पूर्वाधारबाट मात्रै विद्यार्थीलाई विश्वस्तरको शिक्षा प्रदान गर्न सकिने बताएका छन् ।आइतबार भक्तपुरको सानोठिमी क्याम्पसको बहुउद्देश्यीय शैक्षिक भवनको शिलान्यास गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

सरकाको प्रयासबाट निर्माण हुनै पूर्वाधारहरू न्यून गुणस्तरका र समयमैं पूरा नहुने भन्ने गुनासालाई यो शैक्षिक भवनले असत्य साबित गर्न उनले आग्रह गरे । उपराष्ट्रपति पुनले उच्च शिक्षालाई सुलभ र सबै नागरिकको सहज पहुचभित्र ल्याउने पहल भइरहेको बताए ।

नेपालमा पनि राम्रो शिक्षा हुँदाहुँदै पनि यहाँबाट वर्षेनी विदेशीने विद्यार्थीले करिव २२ अर्ब रुपैयाँ खर्च गरिरहेका उनले स्मरण गराए । उपराष्ट्रपति पुनले सरकारी विद्यालयप्रति विद्यार्थीको रुचि घट्नुको कारणबारे सबैले गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले समाजवाद उन्मुख समाज निर्माणका लागि शिक्षाको गुणस्तरले छलाङ मार्नुपर्नेमा जोड दिए । साथै, उपराष्ट्रपति पुनले सोचेको जस्तो समृद्ध नेपाल सुखी नेपाली हुन सुलभ र गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक रहेको औंल्याए ।

यस्तै, उनले शिक्षक पेशाप्रति घट्दै गएको आकर्षणले पनि समाज निर्माणमा व्यक्तिको भूमिकामाथि प्रश्न चिन्ह उठाएको बताए । उपराष्ट्रपति पुनले हरेक विद्यार्थीमा १६ देखि १६ हजार लगानी भैरहेको तर सो अनुरूप प्रगति भने नदेखिएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!